हंगेरीका लेखक लास्ज्लो क्रास्नाहोर्काईलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । ७१ वर्षीय लेखकलाई ‘कलाको शक्ति पुन: पुष्टि गर्ने’ उल्लेखनीय लेखनका लागि नोबेल पुरस्कार प्रदान गरिने भएको नोबेल समितिले बिहीबार जनाएको छ । ‘उनको आकर्षक र दूरदर्शी रचनाका लागि सम्मानित गरिएको हो, जसले सर्वनाशकारी आतंकबिचमा कलाको शक्तिलाई पुन: पुष्टि गर्छ,’ समितिले एक विज्ञप्तिमा भनेको छ । पुरस्कार पाएपछि आफू धेरै खुसी भएको उनले बताएका छन् । ‘सम्मानित भएको समाचार सुन्दा म धेरै खुसी र शान्त छु,’ उनले स्विडेनी प्रसारक स्वेरिगेस रेडियोलाई भने ।
क्रास्नाहोर्काईलाई फ्य्राङफर्टको भ्रमणमा रहेका वेला स्विडेनी एकेडेमीले फोनमार्फत पुरस्कृत भएको जानकारी दिएको थियो । उनका कैयौँ कृति हंगेरियन भाषामा प्रकाशित छन् । उनले विभिन्न चलचित्रका लागि कथा पनि लेखेका छन् । उनका कृति अंग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा पनि छापिएका छन् । उनले सन् २०१५ को म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कारसहित अन्य साहित्यिक पुरस्कार जितेका छन् ।
डिसेम्बरमा स्कटहोममा एक समारोहबिच उनलाई पुरस्कार हस्तान्तरण गरिनेछ । २००२ मा स्व. इम्रे केर्टेजपछि यो पुरस्कार पाउने उनी दोस्रो हंगेरियन लेखक हुन् । स्विडिस एकेडेमीले उनको पहिलो उपन्यासलाई ‘साहित्यिक अनुभूति’ बतायो । उनको जन्म सन् १९५४ मा दक्षिणपूर्वी हंगेरीको एउटा सानो सहरमा भएको थियो ।
उक्त स्थान रुमेनियाको सीमानजिकै पर्छ । सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक नोबेल पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन् । यस वर्षका लागि हालसम्म चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।