जेन–जी आन्दोलनमा भएको क्षतिबापत सवा २३ अर्बको बिमा दाबी

बिमा दाबीयोग्य क्षति निक्र्याेल गर्न फिल्डमा खटिए २७ सय ६ सर्भेयर, पुनर्बिमाबापतको भुक्तानी दिन नेपाल रिको ढिलाइ

शुक्रबार, २४ असोज, २०८२
डिजिटल संस्करण

गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका कारण भएको क्षतिबापत २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको बिमा दाबी परेको छ । बुधबारसम्म प्राप्त तथ्यांकअनुसार दोहोरोपनलगायतको समायोजनपछि आन्दोलनका कारण आएको दाबी रकम सोबराबर देखिएको हो ।

संख्याका आधारमा भने तीन हजार ९९ वटा दाबी परेको नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाएको छ । नेपालमा सञ्चालित १४ निर्जीवन र चार लघु निर्जीवन बिमा कम्पनीमै दाबी परेको छ । यो हकवालाहरूले गरेको दाबी मात्रै हो । अब सर्भेयरले बिमा दाबीयोग्य क्षतिको मूल्यांकन गर्नेछन् । त्यसका आधारमा अन्तिम दाबी रकम निक्र्योल गरिनेछ । त्यस्तो गर्दा प्रक्रिया केही लामो हुन सक्नेछ । यद्यपि, अग्रिम दाबी भुक्तानी दिन भने सुरु गरिएको नेपाल बिमक संघका निवर्तमान अध्यक्ष चंकी क्षेत्रीले जानकारी दिए । ‘आन्दोलनका कारण आउने दाबी करिब यही नै अन्तिम हो । सर्भेयरको अन्तिम प्रतिवेदन आउँदा दाबीयोग्य रकम तलमाथि हुन सक्छ । संख्याका आधारमा करिब यही नै अन्तिम दाबी हो । केही छुटपुट भएको अवस्थामा दाबी भने पर्न सक्छ,’ उनले भने, ‘हामीले ३०–३५ अर्ब रुपैयाँबराबरको दाबी आउने अनुमान गरेका थियाैँ । तर, त्यसअनुसार दाबी परेन । क्षति भएको सम्पत्ति बिमाको दायरामा कम थिए । त्यही भएर दाबी पनि कम पर्यो ।’

आन्दोलनबाट कति क्षति भयो भनेर अन्तिम तथ्यांक आइसकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार निजी व्यापार–व्यवसायमा मात्रै ८० अर्ब रुपैयाँ हाराहारी भएको छ । यीलगायत सरकारी, व्यक्तिगत तथा गैरसकारी सम्पत्तिमा पनि ठुलो क्षति भएको छ । तर, दाबी भने २३ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । बिमाको दायरा व्यापक नहुँदा यस्तो अवस्था आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)समेत रहेका क्षेत्रीले बताए ।

सवा एक अर्ब अग्रिम दाबी भुक्तानी 
घटना भएको झन्डै एक महिनामा बिमा कम्पनीहरूले अग्रिम दाबी भुक्तानी दिन सुरु गरेका छन् । बुधबारसम्मको तथ्यांकअनुसार कम्पनीहरूले एक अर्ब २९ करोड १९ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएका छन् ।

कम्पनीहरूले अन्तिम दाबी भुक्तानी भने सर्भेयर प्रतिवेदन आएपछि दिनेछन् । सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा दुई हजार सात सय ६ को संख्यामा सर्भेयर फिल्डमा खटिएका छन् । हालसम्ममा सर्भेयरहरूले तीन सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको प्राधिकरणको भनाइ छ ।

५० प्रतिशत अग्रिम दाबी दिनुपर्ने 
कम्पनीहरूले ५० प्रतिशत रकम अग्रिम रूपमा दाबी दिनुपर्नेछ । गत ५ असोजको मन्त्रिपरिषद्को निर्णयका आधारमा ८ असोजमा प्राधिकरणले कम्पनीहरूलाई ५० प्रतिशत रकम अग्रिम दाबी भुक्तानी दिन परिपत्र जारी गरेको थियो ।

‘क्षतिको प्रारम्भिक मूल्यांकन प्रतिवेदनका आधारमा बिमाबापत अनुमानित दायित्वको बढीमा ५० प्रतिशतले हुन आउने रकम अग्रिम रूपमा यथाशीघ्र भुक्तानी गर्ने व्यवस्था गर्ने,’ प्राधिकरणको परिपत्रमा भनिएको छ, ‘बिमकले बिमितलाई दाबी भुक्तानी गर्न सम्बन्धित पुनर्बिमा कम्पनीसँग रकम माग गरेको अवस्थामा यथाशीघ्र अग्रिम भुक्तानीका रूपमा अनुमानित पुनर्बिमा दायित्वको बढीमा ५० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गर्ने ।’ तर, यसअनुसार दाबी भएको देखिएन । 

नेपाल रिले दिएन अग्रिम दाबी भुक्तानी
बिमा कम्पनीहरूले बिमितहरूलाई अग्रिम दाबी भुक्तानी दिन सुरु गरे पनि नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)ले भने पुनर्बिमाबापतको अग्रिम दाबी भुक्तानी दिएको छैन । हुलदंगा बिमाको जोखिममा ६५ प्रतिशत दायित्व नेपाल रिले लिएको छ । त्यसमा प्रतिपोलिसी १० करोडमाथिको दाबीमा नेपाल रिको शतप्रतिशत दायित्व हुनेछ । सोहीअनुसार बिमा कम्पनीहरूले नेपाल रिमा दाबी पेस गरिसकेका छन् । तर, अहिलेसम्म भुक्तानी नपाएको नेपाल बिमक संघका अध्यक्ष वीरेन्द्र वैदवार क्षेत्रीले बताए ।

‘हामीले अग्रिम दाबी भुक्तानी दिन सुरु गरिसकेका छौँ । तर, नेपाल रिबाट पुनर्बिमाबापतको भुक्तानी पाएका छैनौँ,’ उनले भने, ‘त्यो भुक्तानी पाउने भएको भए हामीलाई दाबी भुक्तानीमा सहज हुने थियो ।’ 

सरकारले पुनर्बिमा कम्पनीलाई पनि ५० प्रतिशत अग्रिम दाबी भुक्तानी दिन भनेको थियो । तर, सरकारी स्वामित्वकै नेपाल रिले त्यो निर्देशक अवज्ञा गर्दै यस्तो भुक्तानी दिएको छैन । यसबारे बुझ्न खोज्दा नेपालका रिका अधिकारी सम्पर्कमा आएनन् । 

भुक्तानी गर्न नेपाल रिको बोर्डबाट बल्ल भयो निर्णय
नेपाल रिको सञ्चालक समितिले आन्दोलनको क्षतिबापतको भुक्तानी दिने निर्णय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले यसअन्तर्गत आउने दाबीको भुक्तानी दिने निर्णय गरेको हो । सम्भवत: अर्कोे साता यसबापतको रकम निकासा हुने स्रोतको भनाइ छ । 

दाबी भुक्तानीमा समस्या हुँदैन 
संघका निवर्तमान अध्यक्ष क्षेत्रीले दाबी भुक्तानीमा कुनै पनि समस्या नहुने बताए । आवश्यक प्रक्रिया पूरा गरेर समयमै दाबी भुक्तानी गर्ने उनको भनाइ छ । ‘यो बिमा कम्पनीहरू आफैँले गरेको बिमा हो । सरकारको ब्याकमा भएको कोरोना बिमाजस्तो होइन । बिमाका प्राविधिक प्रक्रिया पूरा गरेर भएका बिमा हुन् । पुनर्बिमाको दाबी छ । यसबराबरको बिमा दाबी रकम सहजै भुक्तानी गर्न सकिन्छ,’ उनले भने, ‘आवश्यक प्रक्रिया पूरा गरेर समयमै दाबी भुक्तानी दिन्छौँ ।’

बाढीका कारण भएको क्षतिको पनि दाबी पर्दै 
असोज १८–२० सम्म आएको बाढीपहिरोका कारण पनि बिमा कम्पनीहरूमा उच्चदरमा दाबी पर्ने देखिएको छ । यद्यपि, यसको तथ्यांक संकलन भइनसकेको क्षेत्रीले बताए । ‘यसबाट विशेष गरी कोशी र मधेश प्रदेशबाट उच्च दाबी पर्ने देखिएको छ । जलविद्युत् आयोजनाबाट पनि दाबी आउनेछ । सर्भेयरहरू फिल्डमा खटिसकेका छन् । तर, तथ्यांक भने संकलन भइसकेको छैन,’ उनले भने, ‘यस घटनाका कारण पनि उच्चदरमा दाबी पर्ने देखिएको छ ।’

See More On

सुझावित समाचार