नेकपा (एमाले) अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनमा भएको क्षतिबारे छानबिन गर्न बनेको जाँचबुझ आयोग आफूहरूलाई मान्य नभएको र त्यसको प्रतिवेदनसमेत नमान्ने बताएका छन्। बिहीबार भक्तपुरको गुन्डुमा आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आयोगका अध्यक्ष निष्पक्ष नभएकाले आयोग मान्य नहुने उनको भनाइ छ। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले सो घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने भनेर सामाजिक सञ्जालमा लेखेका थिए। सोही विषयलाई लिएर ओलीले आयोग निष्पक्ष हुन नसक्ने बताएका हुन्।
आयोगले ओलीलगायतलाई विदेश जान रोक लगाएको छ। जसप्रति एमालेले आयोगको आलोचना गर्दै आएको छ।
उनले अहिलेको सरकार संविधानसम्मत नभएको आरोप लागेका छन्। चुनावको नाटक मञ्चन गरेर नेताहरूलाई जेल हाल्ने प्रयास भइरहेको उनले बताए। एमाले चुनावमा नजाने र संसद् पुनर्स्थापनको पक्षमा लाग्ने उनको भनाइ छ।