दसैँपछि खुलेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बजार परिसूचक लगातार दुई दिन फराकिलो अंकले घटेपछि नेपाल राष्ट्र बैंकले सेयर धितो (मार्जिन प्रकृतिको) कर्जासम्बन्धी एकल ग्राहक सीमा हटाएको छ । बैंक तथा वित्तीय संस्थाले कुनै एक ग्राहकलाई सेयर धितोमा बढीमा २५ करोड रुपैयाँसम्म मात्र कर्जा दिन सक्ने व्यवस्था थियो । वित्तीय संस्थालाई परिपत्र जारी गर्दै यस्तो सीमा हटाउने व्यवस्था गरेको हो ।
मंगलबार परिसूचक ५८.५५ अंकले घटेको थियो भने बुधबार ४५.३६ अंकले घटेको छ । दुई दिनमा खुलेको बजारमा परिसूचक १०३.९१ अंकले घटेर २५५९.५९ विन्दुमा पुगेको छ । बुधबार पाँच अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, बजार पुँजीकरण ४२ खर्ब ७८ अर्ब रुपैयाँँ कायम छ । जेन–जी आन्दोलनपछि नेप्से परिसूचक एक सय १२ अंकले घटिसकेको छ ।
दसैँअघि जेन–जी आन्दोलनपछि बजार खुलेलगत्तै सर्किट ब्रेक लाग्ने गरी परिसूचक घटेपछि अर्थमन्त्री रामेश्वर खनालले तत्काल अध्ययन कार्यदल गठन गरेका थिए । कार्यदल गठन गरेपछि पुँजीबजारका समस्या तत्काल समाधान हुने अपेक्षामा लगानीकर्ताको मनोबल बढ्ने अनुमान गरिएको थियो । सोहीकारण दसैँअघि बजार परिसूचकमा झिनो अंकको वृद्धि पनि भएको थियो ।
त्यस्तै, संगठित संस्था आफूले खरिद गरेको सेयरमध्येको कम्तीमा एक वर्ष पुरानो लगानी मात्र बिक्री गर्न सक्ने र त्यसमा पनि एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतभन्दा बढी बिक्री गर्न नपाउने प्रावधान पनि हटाइएको छ । अर्थमन्त्री खनालको निर्देशनमा गठित अध्ययन कार्यदलले दिएको सुझावका आधारमा केन्द्रीय बैंकले यस्तो निर्देशन जारी गरेको हो ।
त्यस्तै, बढ्दो राजनीतिक अन्योल र पछिल्लो समय पूर्वी नेपालमा गएको भीषण बाढीपहिरोले जलविद्युत् आयोजना क्षतिग्रस्त भएर बन्द भएपछि सेयरबजार परिसूचक फराकिलोअन्तरले खस्किएको जानकारहरू बताउँछन् । पछिल्लो समय जेन–जी समूहका अगुवा र राजनीतिक दलका भ्रातृ संगठनबिच तनावको स्थिति बढ्दै गएपछि राजनीतिक स्थायित्वबारे सर्वसाधारण अन्योलमा परेका छन् । राजनीतिक अन्योलले सेयरबजारका लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार परिसूचक खस्किएको छ । भारी वर्षाका कारण आएको बाढी तथा पहिरोले १० जिल्लामा रहेका विभिन्न निजी क्षेत्रका ३२ जलविद्युत् आयोजना प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान)ले मंगलबार नै पुँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा लैजान माग गरेको थियो । एसबानका अध्यक्ष सागर ढकालले कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिद–बिक्रीमा बैंक तथा वित्तीय संस्थामाथि लगाइएको बन्देज हटाउने लगायतका सुझाव स्वागतयोग्य भएकाले सरोकारवाला निकायले तत्काल कार्यान्वयनमा लैजानुपर्ने बताए ।
नि:शुल्क सेयर मागिएको घटनाले लगानीकर्तामा त्रास
४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको १० प्रतिशत सेयर पुरानो सम्झौताअनुसार स्थानीय सर्वसाधारणलाई उपलब्ध गराउनुपर्ने माग राख्दै जेन–जी समूहले २५ भदौबाट विद्युत् उत्पादन बन्द गराएका छन् । सो घटनाले लगानीकर्तामा त्रास बढेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बताए । सोही विषयलाई लिएर बुधबार इप्पानको नेतृत्वमा पीडित जलविद्युत् आयोजनाका प्रतिनिधिसहितको टोलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई घटनाबारे जानकारी गराएका थिए । अध्यक्ष कार्कीले जेन–जी युवाहरूको नाममा आयोजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशीघ्र सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग राखेका थिए । इप्पानका कुरा सुनेलगत्तै गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोशी जलविद्युत् आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
पूर्णक्षमतामा विद्युत् उत्पादन हुने वर्षायाममा आयोजनाले दैनिक ९८ लाख रुपैयाँँबराबरको विद्युत् उत्पादन गर्दै आएको थियो । पछिल्लो २८ दिनदेखि आयोजना बन्द हुँदा २७ करोडभन्दा बढी आम्दानी गुमाउनुपरेको आयोजना प्रवद्र्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए ।
जेन–जी युवाहरूले स्थानीयलाई १० प्रतिशत नि:शुल्क सेयर नदिएसम्म भोटेकोशीबाट विद्युत् उत्पादन गर्न नदिने चेतावनी पत्र कम्पनीमा पठाएका थिए । यही मौकामा अरु स्थानीयले पनि सिन्धुपाल्चोकका अन्य जलविद्युत् आयोजनामा पनि १० प्रतिशत नि:शुल्क सेयर दिनुपर्ने माग राखी पत्र पठाएका छन् ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत् आयोजना राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना भएकाले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा दिनुपर्ने बताए । निजी क्षेत्रले १५ खर्ब रुपैयाँँभन्दा बढी लगानी गरेर तीन हजार मेगावाट विद्युत् उत्पादन गरिरहेको भन्दै राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसके काम गर्न नसकिने डाँगीले बताए ।
माथिल्लो बलेफीका सञ्चालक मोहनविक्रम कार्कीले जलविद्युत् उत्पादकको मनोबल गिराउने काम भएकाले यस्तो वातावरणमा कुनै पनि प्रवद्र्धकले थप लगानी गर्न नसक्ने बताए ।
जेन–जी युवाहरूले सञ्चालनमा आइसकेको २२.२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले १० प्रतिशत फ्री सेयर स्थानीयलाई नदिए यही असोज ३० गतेदेखि आयोजनाको विद्युत् उत्पादन बन्द गराउने पनि चेतावनी दिएका छन् ।
अहिले सिन्धुपाल्चोकमा सञ्चालनमा आइसकेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत् आयोजनामा पनि स्थानीयलाई १० प्रतिशत नि:शुल्क सेयर माग गरिएको छ ।
त्यस्तै, अन्य निर्माणाधीन जलविद्युत् आयोजनामा २२.१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दुधखोलालगायतका आयोजनामा पनि सर्वसाधारणलाई १० प्रतिशत फ्री सेयर माग्दै जेन–जी र स्थानीय युवाहरूको नामबाट पत्र काटिएको इप्पानले जनाएको छ ।