२३ र २४ भदौको जेन–जी प्रर्दशनका क्रममा उद्योग र व्यावसायीक प्रतिष्ठानमाथिको आक्रमणलाई लिएर पोखराका व्यवसायीले रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना गर्नु एवं राज्यलाई कर तिर्नु अपराध हो ? भनी प्रश्न गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले बुधबार पोखरामा आयोजना गरेको ‘उद्योगी-व्यवसायीमाथि भएको आक्रमणले निम्त्याएको बहुआयामिक असर र निराकरणका उपायहरू’ विषयक अन्तक्र्रियाका वक्ताहरूले सो प्रश्न गरेका हुन् । जेन–जीले उठाएका मागहरूमा निजी क्षेत्र र व्यवसायीको साथ र समर्थन रहेको भन्दै उनीहरूले प्रर्दशनको क्रममा उद्योग र व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणले व्यवसाय गर्नु र नाफा कमाउनु अपराध हो भन्ने भाष्य स्थापित गर्न खोजेको र त्यसलाई बदल्नुपर्ने भनाइ धारणा राखेका थिए । पोखराको निजी क्षेत्रले दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही, व्यावसायीक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश सरकारले दिनसक्नु पर्नेमा र घोषित मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएको छ ।
कार्यक्रममा अवधारणापत्र पेश गर्दै संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी प्रर्दशनका क्रममा व्यवसाय गरेर धन आर्जन गरेकाहरूलाई दोषी करार गर्ने, धन कमाउनै हुन्न, राम्रो लगाउनै हुन्न र यस्तो गर्नेहरू सबै भ्रष्टाचारी हुन् भन्ने भाष्य निर्माण गर्न खोजेकोमा दुखेसो गरे । उनले रिस्क मोलेर लगानी गर्नु, रोजगारी सिर्जना गर्नु एवं राज्यलाई कर तिर्नु अपराध हो भनी प्रश्न गर्दै विद्यामा ज्ञान आर्जन र व्यवसायीमा नाफाको भोक जाग्नुलाई अपराध करार गर्न मिल्छ ? भन्दै पुनः प्रश्न गरे ।
उनले अपराधलाई क्रान्तिको लेपन लगाउन नमिल्ने, अपराध कर्ममा संलग्नहरू क्रान्ति नायक हुन नसक्ने, अपराधको जगमा कुनै पनि राजनीतिक परिवर्तन सम्भव पनि नहुने बताए । यसले समाजमा थिति समेत नबस्ने र प्रगति पनि नहुने कार्कीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जेन–जीको प्रर्दशनपछि गठन भएको नयाँ सरकारले देशमा निषेधको राजनीति सुरु गरेको जिकिर गर्दै यसले देशमा कठीन दिन आउन सक्ने भन्दै चिन्ता जाहेर गरेका थिए । निषेध र प्रतिशोधको राजनीति सुरु भएको, एउटाले अर्कोविरुद्ध उजुरी हालेको छ अब यो अवस्थाको अन्त्य गरिनुपर्नेमा उनको जोड थियो ।
जेन–जीको प्रर्दशनको क्रममा आगो लगाईएको पोखरा–६ लेकसाईडस्थित होटल सरोवरका सञ्चालक प्रतिकराज पहारीले देशमा भ्रष्टाचार र बेथिति निकै बढेको अवस्थामा युवाहरूको आक्रोश जायज रहेकोले शान्तिपूर्ण आन्दोलन जरुरी रहेकोमा युवाहरूको ज्यान जानुसँगै युवाहरूको नाममा भएको अराजकता र तोडफोड त्यत्तिकै पीडादायीसँगै दुःखद घटनाको रुपमा रहेको बताए ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले युवाको नाममा अपराधमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउँदै प्रर्दशनको नाममा व्यक्तिको अधिकारमाथि धावा बोल्न नमिल्ने बताएकी थिइन ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले निजी क्षेत्रमाथि सुनियोजित तरिकाले आक्रमण भएको बताए । सुनियोजित तरिकाले आक्रमण हुँदा पनि आफूहरू निरीह बन्नु परेको भन्दै दुःख व्यक्त गरिन ।