वीरगन्ज महानगरपालिका– २० का वडाध्यक्ष रामकिशोर सिंह परागले जेन–जी पुस्ताको समर्थन जनाउँदै नेकपा एमाले छाडेका छन् । बुधबार उनले जेन–जी पुस्ताको सुशासन र परिवर्तनको चाहनामा समर्थन जनाउँदै नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।
गत असोज ६ मा वीरगन्ज महानगर उपाध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका परागले बुधबार भने एमालेको साधारण सदस्यबाटै राजीनामा दिएका हुन् । जन्मदिनको अवसर पारेर वडाध्यक्ष परागले अब नेकपाको एमालेको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरे । नेकपा एमालेको नेतृत्व सुध्रिने संकेत नदेखिएपछि त्यस्तो पार्टीमा आफू बस्न नसक्ने निष्कर्ष निकालेर पार्टी परित्याग गरेको उनले बताए ।
यता नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माले भने एमाले वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष परागले राजीनामा लिखित रूपमा नदिएको जानकारी दिए ।