सिराहाको लहान नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने १५ नं. वडाअन्तर्गत ढोढनास्थित राजदेवी मन्दिर धर्मशालामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरिएको छ। लहान नगरपालिकाको आर्थिक सहयोगमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले बुधबार बिहानदेखि शिविर सञ्चालन गरेको हो । लहान १५ वडा कार्यालयको आयोजनामा १५ नं. र छिमेकी वडा १८ नं. का आँखाका बिरामीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । शिविरको नगर प्रमुख महेशप्रसाद चौधरी र आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले समयमै आएर उपचार सेवा लिन आग्रह गरे । ‘आर्थिक अभावमा आँखाजस्तो संवेदनशील अंगको उपचार सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले आँखा अस्पतालसँग सम्झौता गरी नगरका सबै वडामा शिविर सञ्चालन थालिएको हो,’ उनले भने । उनका अनुसार नगरपालिकाले पछिल्लो तीन वर्षदेखि आँखा अस्पतालसँग गरेको सम्झौताबमोजिम नगरका २४ वटै वडामा आँखा शिविर सञ्चालन गरी मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गराउँदै आएको छ ।
अस्पताल अध्यक्ष चौधरीले नगरपालिकाले जाँच शिविर सञ्चालनसहित मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गराउन लाग्ने खर्च व्यवस्थापन गरिदिएर जनपक्षीय काम गरेको बताए । शिविरमा लाहन १५ र १८ वडाअन्तर्गत पर्ने ढोढना, बानो, वीरनगर, शोभापुर, सिमलटोकी, लग्राहा, सिसबोनी, बेतहा, बडेरबोना, अमही र छिटपुट रूपमा लहान– १० गुदीगाउँका आँखाका बिरामी पनि जाँच गराउन पुगेको वडाध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए ।
‘शिरिमा तीनवटै वडा क्षेत्रका करिब तीन सय आँखाका बिरामीको जाँच गरिने लक्ष्य छ,’ उनले भने । पछिल्लो वर्ष ढोढनामा भएको आँखा शिविरमा २९४ जनाको आँखा जाँच गरिएकामध्ये मोतियाविन्दु भएका ९६ जनाको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए ।