शान्तिसुरक्षाको व्यवस्थालाई मजबुत बनाई संयमित रहन मानव अधिकार आयोगको आग्रह

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले शान्तिसुरक्षाको व्यवस्थालाई मजबुत बनाई संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ । बुधबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै मुलुकमा विकसित राजनीतिक घटनाक्रम, जेन–जी पुस्ताका समूहले आगामी दिनमा गर्ने भनिएको प्रदर्शन, विकसित परिस्थितिमा विभिन्न समूह, राजनीतिक दल र व्यक्तिहरूबाट अभिव्यक्त विचार र त्यसबाट शान्तिसुरक्षामा पार्न सक्ने प्रभाव तथा मानव अधिकारको उपभोगमा आउन सक्ने अवरोधका घटनाहरूलाई आयोगले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् । 

गत भदौ २३ र २४ गते भएको हिंसात्मक कार्य र आगजनीमा भएको मानव अधिकार उल्लंघनको घटनाको अनुसन्धानलाई तीव्रता दिनुका साथै विकसित परिस्थितिको अनुगमन गर्ने र सम्बन्धित निकायबाट तथ्य विवरण संकलन  गर्ने कामलाई आयोगले निरन्तरता दिइरहेको उनले बताए । 

हिंसात्मक गतिविधि, अरूप्रति लक्षित नकारात्मक टीका–टिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सदभाव खल्बलिने र राजनीतिक वातावरणसमेत धुमिल हुने हुँदा यसबाट शान्तिसुरक्षा र विधिको शासनमाथि नै प्रतिकूल असर पर्न  जाने भन्दै आयोगले  सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण गर्नु, विधिको शासन कायम गर्नु, सामाजिक सदभाव कायम राख्दै जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत वर्तमान संक्रमणकालीन अवस्थालाई निकास दिनु राज्यका सम्बन्धित निकायको दायित्व र त्यस्तो प्रक्रियालाई सघाउनु आमनागरिकको समेत कर्तव्य हुने उल्लेख गरेको छ । 

विकसित परिस्थितिमा शान्तिसुरक्षा र विधिको शासनलाई मजबुत बनाउन सुरक्षा निकायको मनोबल उच्च बनाउँदै धैर्यता र संयमतापूर्वक आवश्यक कदमहरू चाल्न आयोगले सरकारलाई निर्देशन गरेको छ । साथै, विभिन्न समूहले आगामी दिनमा गर्ने भनिएका प्रदर्शनलाई मर्यादित र संयमित बनाउन, अरूप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सदभाव कायम राख्न र जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन आयोग राजनीतिक दल  र समूहलाई आग्रह  गरेको छ ।  यसप्रकारका कार्यमा सघाउन आयोगले  नागरिक समाज, सञ्चारकर्मी तथा मानव अधिकार समुदायलाई अपिलसमेत गरेको छ ।                
 

सुझावित समाचार