- इजरायलको युद्ध क्षमतामाथि कुनै शंका छैन, तर उसले सधैँ लडिरहने कि स्थायी शान्ति कायम गर्ने, एक विकल्प रोज्नुपर्छ
एक अनन्त आशावादीका नाताले मलाई आशा थियो कि ७ अक्टोबर २०२३ मा हमासले गाजामाथिको घेराबन्दी तोड्दै दक्षिणी इजरायलमा आक्रमण गरेपछि प्यालेस्टिनीप्रति इजरायली रणनीति बदलिनेछ । मलाई आशा थियो कि इजरायली नेताहरूले चारैतिरबाट देशलाई अभेद्य पर्खालले घेरेर मात्रै देशको रक्षा नहुने रहेछ भन्ने महसुस गर्नेछन् । तर, आक्रमणले उल्टो असर गर्यो । इजरायलले प्रतिशोधपूर्ण आक्रमण सुरु गर्यो, जसमा करिब दुई वर्षपछि ६५ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । साथै गाजामा व्यापक विनाश भएको छ । गाजाका ९२ प्रतिशत आवासीय भवन नष्ट गरिएका छन् ।
सुरुमा इजरायली जवाफले म स्तब्ध भएको थिएँ । आक्रमणलाई सही ठहर्याउन इजरायली नेताहरूले गाजाका जनताको अमानवीकरण सुरु गरेका थिए । आक्रमण सुरु गर्दा रक्षामन्त्री रहेका योभ ग्यालान्टले गाजामाथिको आक्रमणलाई ‘मानवरूपी जनावरहरू’विरुद्धको संघर्ष भएको भन्दै त्यसैअनुरूप लडिने बताएका थिए ।
तर, इतिहास हेर्ने हो भने प्यालेस्टिनीहरूको अमानवीयकरण नयाँ भने होइन । यो धेरै वर्षदेखि चल्दै आएको छ । इजरायली सेनाले प्यालेस्टिनीविरुद्ध पटक–पटक यही रणनीति र भाषा प्रयोग गरेको इतिहास छ । अप्रिल १९८३ मा तत्कालीन इजरायली सेना प्रमुख राफेल इटानले पश्चिमी किनाराका प्यालेस्टिनीलाई ‘बोतलमा लठ्याएर थुनेको साङ्लो’ भनेका थिए । त्यस्तै इजरायली नियन्त्रण कायम भएदेखि सेनाले पश्चिमी किनारामा कुनै पनि शंकास्पदको घर भत्काउने गर्छ । सेनाको छापामा परेका निर्दोष मानिस मारिन्छन्, तर दोषीले उन्मुक्ति पाउँछन् ।
इजरायली र प्यालेस्टिनीलाई अलग गर्न बनाइएका अग्ला पर्खाल र चौकीले दुई पक्षबिचको सम्पर्क थप विच्छेद गरेको छ । यसले गर्दा एक–अर्कालाई राक्षसी रूपमा प्रस्तुत गर्न थप सजिलो भएको छ । इजरायलले हाल गाजामा जारी राखेको जातीय सफायाको उदाहरण पनि विगतमा चिहाउने हो भने भेटिन्छ । सन् १९४८ को प्यालेस्टिनी युद्धमा सात लाखभन्दा बढी प्यालेस्टिनी–अरबहरूलाई तिनको गाउँघरबाट खेदेर लखेटिएका थिए । त्यस वेला इजरायलको सेनाले सो समूहलाई लक्षित गरी दर्जनौँ नरसंहार गरेको थियो । तर, यो इतिहासलाई ख्याल गर्दासमेत अक्टोबर ७ देखि गाजामा इजरायली सेनाले गरेको हत्याको स्तर विगतको भन्दा निकै ठुलो रह्यो ।
गाजामा हत्या शृंखला चलिरहँदा प्यालेस्टाइनको अर्को हिस्सा पश्चिमी किनारमा पनि इजरायली आतंक चलिरहेको छ । जस्तो– अगस्टमा इजरायली सरकारले त्यस भेगमा ‘इ१ विस्तार’ परियोजनालाई अन्तिम स्वीकृति दियो । यस परियोजनाले प्यालेस्टिनी बस्तीलाई टुक्राटुक्रा पार्नेछ भने पूर्वी जेरुसेलममा रहेका हजारौँ अवैध इजरायली बसोवास क्षेत्रलाई अदुमिम बस्ती क्षेत्रसँग जोड्नेछ । यसले भविष्यमा एक निरन्तर विस्तार भएको प्यालेस्टिनी भूमिमा राज्य निर्माणको सम्भावनालाई कमजार बनाउनेछ ।
‘इ१ विस्तार परियोजना’प्रति अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रिया मिश्रित छ । युरोपेली देशका नागरिकमा इजरायल अन्तर्राष्ट्रिय कानुनको बारम्बार उल्लंघनबाट उम्किरह्यो भने विधिमा आधारित विश्व व्यवस्थाको विनाश हुने विश्वास बढ्दै गएको छ । परिणामस्वरूप युरोपेली सहरमा इजरायलका नीतिको विरोधमा ठुल्ठुला विरोध भइरहेका छन् । भर्खरै, गाजापट्टीमा इजरायली नाकाबन्दी तोड्न र सहायता वितरण गर्ने उद्देश्यले ४४ देशका सयौँ अभियन्ता चढेका जहाज इजरायलले अन्तिम समयमा कब्जामा लियो । नागरिकले इजरायली कदमको विरोध गरे पनि तिनका सरकारको प्रतिक्रिया सुस्त छ । युरोपेली सरकारले बाहिर इजरायलको आलोचना गरेजस्तो त गर्छन्, तर फेरि इजरायली युद्ध अभियानलाई पनि विभिन्न रूपमा सघाइरहेका छन् ।
संस्थागत प्रतिक्रियाको यो निराशाजनक अवस्थाका बाबजुद, गाजायुद्धले इजरायललाई हेर्ने दृष्टिकोण विश्वभर नै बदलिएको छ । सन् १९४८ को नक्बामा प्यालेस्टिनीको हिंसात्मक विस्थापनबाट अस्तित्वमा आएको इजरायलले विगत ७७ वर्षमा फैलाएको धेरै गलत धारणा उजागर भइरहेका छन् । त्यस्तै, विगतमा प्रतिबन्धित क्षेत्रले पनि प्यालेस्टिनी आवाज व्यक्त गर्ने छुट दिन थालेका छन् ।
यता पछिल्लो समय, डोनाल्ड ट्रम्पको प्रस्तावित ‘गाजा शान्ति योजना’ पछ्याउँदै हमासले आफ्नो ‘कब्जामा रहेका सबै बन्दी’ रिहाइ गर्ने बताएको छ । फलस्वरूप, ट्रम्पले इजरायललाई गाजामा तुरुन्तै बमबारी बन्द गर्न आदेश दिए । यदि युद्ध समाप्त भयो र गाजामाथिको नाकाबन्दी हटाइयो भने प्यालेस्टिनीहरूले आफैँ आफ्नो देश पुनर्निर्माण गर्नेछन् । यसमा उनीहरू सक्षम छन् । उनीहरूसँग दशकौँ नाकाबन्दीबिच काम गरेका इन्जिनियर, कामदार र प्राविधिक छन् । आवश्यक स्रोत र यन्त्रमा पहुँच दिइयो भने उनीहरूले कुनै पनि बाह्य ठेकेदारभन्दा छिटो पुनर्निर्माण गर्न सक्छन् ।
जहाँसम्म इजरायलको कुरा छ, तिनको सेनाको युद्ध क्षमतामाथि कुनै शंका छैन । तर, इजरायलले स्थायी युद्ध वा स्थायी शान्तिमध्ये एउटा रोज्नुपर्छ । यो तब मात्र सम्भव हुन सक्छ, जब उसले प्यालेस्टिनीहरूको आत्मनिर्णयको अधिकारलाई मान्यता दिन्छ । तथापि, अहिलेका लागि यो सम्भावना टाढा देखिन्छ । युद्धमा इजरायलले गाजालाई नष्ट गर्न सक्ला, तर त्यस क्रममा ऊ आफैँ पनि नष्ट भइरहेको हुन्छ भनेर ख्याल गर्नुपर्छ ।
सेहादेह प्यालेस्टिनी वकिल तथा लेखक हुन् ।
द गार्जियनबाट