- विश्व बैंकको प्रतिवेदन : पछिल्लो जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक एवं आर्थिक अस्थिरताका कारण आर्थिक वृद्धिदर सुरु अनुमानभन्दा ३.१ प्रतिशतले ह्रास आउने, यस वर्ष वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने
जेन–जी आन्दोलन र त्यसपछि विकसित राजनीतिक एवं आर्थिक अस्थिरताका कारण नेपालको आर्थिक वृद्धिदर उच्चदरमा खस्कने विश्व बैंकले आँैल्याएको छ । विश्व बैंकले मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट रिपोर्ट’ सार्वजनिक गर्दै पछिल्लो आन्दोलन र राजनीतिक अस्थिरताका कारण आर्थिक वृद्धिदर व्यापक रूपमा साँघुरिने अनुमान गरेको हो ।
विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । जबकि, यसअघि जुलाईमा विश्व बैंकले चालू आवमा ५.२ प्रतिशतको वृद्धिदर हुने प्रक्षेपण गरेको थियो । विश्व बैंकले सुरुमा गरेको प्रक्षेपणभन्दा ३.१ प्रतिशतले न्यून आर्थिक वृद्धिदर हुने प्रतिवेदनमा उल्लेख छ ।
नेपालले सेप्टेम्बर महिनामा दशकौँ यताकै सबैभन्दा गम्भीर अशान्ति अनुभव गरेको विश्व बैंकले उल्लेख गरेको छ । ‘सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध आन्दोलनमा ठुलो मानवीय र आर्थिक क्षति भयो,’ प्रवितेदनमा उल्लेख छ, ‘यसबाट पर्यटन आगमन घट्नेछ, बिमा व्यवसाय प्रभावित भएको छ, व्यावसायिक वातावरण खस्किएको छ, निजी क्षेत्रको लगानी रोकिएको छ ।’ समग्रमा आर्थिक वृद्धिदर व्यापक रूपमा कम हुने देखिएको प्रतिवेदनमा उल्लेख छ ।
आन्दोलन र राजनीतिक एवं आर्थिक अस्थिरताको प्रभाव आगामी वर्षको वृद्धिदरसमेत देखिने प्रतिवेदनले औँल्याएको छ । आगामी आर्थिक वर्षमा ४.७ प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ । जबकि, यसअघि विश्व बैंकले आगामी वर्ष ५.५ प्रतिशतको वृद्धिदर हुने अनुमान गरेको थियो । यद्यपि, ध्वस्त संरचनाको पुनर्निर्माणले आर्थिक वृद्धिदरलाई टेवा भने पुर्याउनेछ ।
गत २३ र २४ भदौको जेन–जी आन्दोलन र त्यस क्रममा अराजक भिडले गरेको तोडफोड, लुटपाट तथा आगजनीबाट सरकारी संरचनाका साथै निजी उद्योग–व्यसायमा समेत व्यापक क्षति पुगेको छ । निजी क्षेत्रले ८१ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिसकेको छ । यद्यपि, निजी र सरकारी दुवै क्षेत्रका क्षतिको पूर्ण विवरण भने आउन बाँकी रहेको छ । अहिले सरकार र निजी क्षेत्रले आ–आफ्ना क्षतिग्रस्त संरचनाको पुनर्निर्माण वा नवनिर्माणका लागि क्षति मूल्यांकन र अध्ययन गरिरहेका छन् ।
ढिला सुरु भएको मनसुनको प्रभाव अर्थतन्त्रमा
खासगरी मधेश प्रदेशमा समयमै वर्षा नहुँदा देखिएको सुक्खाको प्रभावसमेत वृद्धिदरमा देखिने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । मधेशमा ढिला गरी वर्षा हुँदा धान रोपाइँ प्रभावित भएको छ । नेपालको आर्थिक वृद्धिदरमा महŒवपूर्ण योगदान दिने धानको रोपाइँमा ढिलाइ हुँदा वृद्धिदर प्रभावित हुने विश्व बैंकले जनाएको छ । विश्व बैंकको ‘साउथ एसिया डेभलपमेन्ट रिपोर्ट’अनुसार चालू आवमा दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भुटानमा ७.३ प्रतिशत हुनेछ । त्यस्तै, भारतको ६.५ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, माल्दिभ्सको ३.९ प्रतिशत र श्रीलंकाको ३.५ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण गरिएको छ । समग्र दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ ।
६ प्रतिशत वृद्धिदरको लक्ष्यमा धक्का
सरकारले चालू आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । जेन–जी आन्दोलनबाटै सत्ताच्युत भएका केपी ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने उल्लेख गरेका थिए । तर, पछिल्लो आन्दोलन र त्यसबाट विकसित राजनीतिक एवं आर्थिक अस्थिर, मधेशको सुक्खा संकट, हालैको बाढीपहिरोलगायत कारण आर्थिक वृद्धिदरको लक्ष्यमा निकै ठुलो धक्का लाग्ने देखिएको छ ।