इन्दुले पूरा गरिन् टी–२० आईमा एक हजार रन

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण
  • मलेसियासँगको चौथो टी–२० आईमा ४८ रनको अविजित इनिङ्स खेल्दै कप्तान इन्दु बर्मा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन्

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले टी–२० आई फर्म्याटमा एक हजार रन पूरा गरेकी छिन् । बर्मा टी–२० आईमा यो उपलब्धि हात पार्ने पहिलो नेपाली महिला क्रिकेटर हुन् । मलेसियासँगको चौथो टी–२० आई खेलमा ४८ रनको अविजित इनिङ्स खेल्दै उनले एक हजार रन पूरा गरेकी हुन् । इन्दुकै उत्कृष्ट ब्याटिङ प्रदर्शनकै कारण नेपालले मलेसियालाई ६ विकेटले हराउन सफल भयो । जितसँगै नेपालले पाँच खेलको सिरिज दुई–दुईको बराबरी गरेको छ ।

सन् २०१९ मा चीनविरुद्ध टी–२० आईमा डेब्यु गरेकी इन्दुले ७७ टी–२० आईमा १०४३ रन बनाएकी छिन् । मलेसियाविरुद्ध चौथो खेलमा प्रतिस्पर्धा गर्नुअघि इन्दुले ७६ खेलमा इन्दुले नौ सय ८५ रन जोडेकी थिइन् । उनलाई एक हजार रन पूरा गर्न केवल मलेसियाविरुद्ध १५ रन बनाउनुपर्ने थियो । इन्दुले करिअरमा एकपटक मात्र अर्धशतकीय इनिङ्स खेलेकी छिन् । सन् २०२१ मा उनले कतारसँगको प्रतिस्पर्धामा ५५ रन बनाएकी थिइन् ।

इन्दुले आफ्नो करिअरमा १८.७८ को औसतमा ७७ चौका र तीन छक्का प्रहार गरेकी छिन् । उनी अहिलेसम्म २९ पटक क्याचआउट भएकी छिन् । उनले टी–२० आईमा ८३.७१ को स्ट्राइकमा ब्याटिङ गर्न रुचाउने इन्दुले एक हजार दुई सय ३४ बलको सामना गरेकी छिन् । अलराउन्डर भूमिका निर्वाह गर्ने उनले ७७ खेलमा ४६ इनिङ्सबाट ४० विकेट लिएकी छिन् ।

नेपाली महिला क्रिकेट टोलीमा इन्दुपछि दोस्रो सर्वाधिक टी–२० आईमा रन जोड्ने खेलाडी सीता रानामगर हुन् । उनले ६२ खेलमा नौ सय ६५ रन बनाएकी छिन् । यसैगरी, पूर्वकप्तान रुबिना क्षेत्रीको ७८ खेलमा नौ सय ३६ रन छ । छोटो समयमै पूजा महतोको ४१ खेलमा पाँच सय १६ रन बनाएकी छिन् ।

मलेसियाको मैदानमा धेरै रन
कप्तान इन्दुले एक हजार रन पूरा गर्ने क्रममा मलेसियाको भूमिमा धेरै व्यक्तिगत रन प्रहार गरेकी छिन् । सन् २०२२ देखि ०२५ सम्म यहाँ नेपालले २८ अन्तर्राष्ट्रिय टी–२० खेल खेलेको छ । जसमा इन्दुले २५ इनिङ्समा सातपटक नटआउट रहँदै चार सय ३ रन बनाएकी छिन् । मलेसियामा उनले ३० चौका र एक छक्का प्रहार गरेकी छिन् ।

त्यसपछि थाइल्यान्डमा नेपालले १६ खेल खेल्दा इन्दुले १४ इनिङ्समा एक सय ९१ रन जोडेकी छिन् । नेपालको भूमिमा इन्दुले १४ खेलमध्ये १२ इनिङ्समा एक सय ४५ रन बनाएकी छिन् । उनले युगान्डमामा ८४ रन, युएईमा ८१ रन तथा हङकङको भूमिमा ५४ रन जोडेकी छिन् ।

कतारको मैदानमा नेपालको एक मात्र अन्तर्राष्ट्रिय टी–२० खेल भएको छ । जहाँ इन्दुले ५५ रन बनाइन् । उनले सबैभन्दा कम व्यक्तिगत रन श्रीलंकामा बनाएकी छिन् । श्रीलंकामा नेपालले तीनवटा टी–२० आई खेल्दा उनले २० रन मात्र बनाइन् ।

सुझावित समाचार