सिंहदरबार जलेको एक महिनापछि बोले बालेन- महानगरको दमकललाई आन्दोलनकारीबाट अवरोध भयो

बुधबार, २२ असोज, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले आन्दोलनकारीबाट अवरोध हुँदा सिंहदरबार जल्दा तत्काल दमकल परिचालन गर्न नसकिएको बताएका छन् । सिंहदरबार जल्दा महानगरपालिकाले दमकल नपठाएकोबारे प्रश्न उठिरहेका वेला झन्डै एक महिनापछि बालेनले त्यसबारे सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिएका छन् ।

‘यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? तीन दिनसम्म जलेको हेरेर बस्यो ?, सिंहदरबार जलाउने नै बालेन शाह हो, यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्,’ बालेनले फेसबुकमा लेखेका छन्, ‘कारण थियो हुलले दमकललाई काम गर्न नदिएको, जब भिड अलि शान्त हुनेबित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो, न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके, यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो ।’ बालेनले सिंहदरबार जलेलगत्तै दमकल जाने प्रयास गरे पनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान नसकेको र नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न नसकेको उल्लेख गरेका छन् ।

गत २४ भदौको दिन स्मरण गराउँदै उनले दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त रहेको र त्यतिवेला काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि नहटेको पनि दाबी गरेका छन् । ‘सवारीसाधन आवतजावतको त कुरै छाडौँ, मान्छेसमेत हिँड्डुल गर्न सक्ने अवस्था थिएन, तैपनि हाम्रो टिम दिनरात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीका लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्यांक संकलन, जलेका गाडीहरूको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो । हामी कुनै आरोपबाट भाग्दैनौँ, जिम्मेवारीबाट त अझै होइन,’ बालेनले भनेका छन् ।

न्युरोडमा दुई, बालाजुमा दुई र रामहिटीमा एउटा गरी पाँचवटा दमकल सञ्चालनमा रहेको उनको भनाइ छ । १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले तीन सिफ्टमा काम गर्छन् । ‘२३ गते केही स्थानमा र २४ गते सिंहदरबार मात्रै होइन, काठमाडौं मात्रै होइन, सिंगो देश जल्दै थियो । महानगरभित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ बालेनले लेखेका छन्, ‘दमकलले २३ भदौ दिउँसो १:३० देखि ५ बजेसम्म संसद् भवनअगाडि आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटीको दमकलले आगो निभाइरहेको थियो । न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो । २४ गते बिहानैदेखि कुनै पनि दमकल सञ्चालनमा आउन सकेको थिएन । राति ८ देखि १ बजेसम्म विशाल बजार जनसेवा प्रहरी वृत्त, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोडको दमकलले तथा नयाँ बसपार्क बालाजुमा र रामहिटीको दमकलले आगो निभाइरहेको थियो ।’ 

See More On

सुझावित समाचार