- राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त रहेको भनाइ, पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक संभ्रान्तहरूलाई जेन–जी आन्दोलनले घुँडा टेकाएको विश्लेषण
एमाले, माओवादी र एकीकृत समाजवादीसहितका दलमा आबद्ध युवाहरूले जेन–जी आन्दोलनको भावना आत्मसात् गर्दै पार्टी पुनर्गठनका लागि शीर्ष नेताहरूलाई मार्गप्रशस्त गर्न आह्वान गरेका छन् । उनीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई पनि दलभित्र हस्तक्षेप गरी सुधारको दबाब दिन आग्रह गरेका छन् । एमालेका दुई केन्द्रीय सदस्यसहित २८ जना युवाले सामूहिक वक्तव्यमा लोकतान्त्रिक प्रक्रिया सबल बनाउन दलहरूको पुनर्गठन अपरिहार्य भएको निष्कर्षसमेत सार्वजनिक गरेका छन् ।
‘राजनीतिक दलहरूमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरूको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो । दलहरूमा अलमल, पुरानै नेताहरूको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरूको बोलबाला, बाहिरी शक्तिहरूको चलखेल र अस्थिरताको दुष्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरूको पुनर्गठन आजको मुख्य सर्त हो,’ संयुक्त आह्वानमा भनिएको छ, ‘लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरूलाई बिदा नगरीकन दलहरूको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आ–आफ्ना दलहरूलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाइ नगर्न सबै राजनीतिक दलका दोस्रो–तेस्रो तहका नेताहरू र ती पार्टीका जिम्मेवार सदस्यहरूलाई हामी आह्वान गर्दछौँ ।’
जेन–जी आन्दोलनको माग र सन्देश स्पष्ट रहेको भन्दै उनीहरूले नेपालीहरूले राजनीति, प्रशासन र न्यायपालिकालगायत भ्रष्टाचार मुक्त, पारदर्शी र परिणाममुखी भएको देख्न चाहेको बताएका छन् । ‘राजनीतिक दलहरू जिम्मेवार बनून् भन्ने चाहन्छन् । राजनीतिमा नेतृत्वको हस्तान्तरण–पुस्तान्तरण सहज तथा स्वाभाविक होस् भन्ने चाहन्छन् । तर, मुख्य राजनीतिक दलका नेताहरूले अझै पनि उक्त सन्देश नसुनेझैँ गरेका छन् । विभिन्न बहाना गरेर फेरि पनि नेतृत्वमा रहने छलछाम गर्दै छन्, आन्दोलनको सन्देशलाई नसुन्नु वा नबुझ्नु घातक हुनेछ । यस्तो बहानाबाजीले मुलुकलाई अझै ठुला दुर्घटनातर्फ धकेल्नेछ,’ युवा नेताहरूले भनेका छन् ।
राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले जनताका आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको भन्दै उनीहरूले जेन–जीको आन्दोलनलाई समर्थन गरेका छन् । ‘यो परिस्थिति अचानक आएको होइन । राजनीतिमा संस्थागत भएको भ्रष्टाचारविरुद्ध राजनीतिक पार्टीका कार्यकर्ता, नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम तथा देशभित्र र बाहिर रहेका नेपालीहरूबाट आवाज उठिरहेका थिए । राज्य र राजनीतिको जिम्मेवारीमा रहेकाहरूले ती आवाज नसुनेपछि कहीँ न कहीँबाट विद्रोह हुनु अनिवार्यजस्तै भएको थियो । जेन–जीले नेपाली समाजको ज्वलन्त मागलाई लिएर सडकमा गएपछि त्यसले सबै नेपालीको समर्थन पायो,’ उनीहरूले भनेका छन्, ‘पार्टी र राज्य कब्जामा लिएपछि जे गरे पनि हुन्छ भन्ने राजनीतिक सम्भ्रान्तहरूलाई यस आन्दोलनले घुँडा टेकाएको छ । लामो समयदेखि राजनीतिक पार्टीहरूको सुधारका लागि सक्रियतापूर्वक लागिरहेका हामीहरूलाई यसले गहिरोसँग प्रभावित पारेको छ । त्यसैले जेन–जीको आन्दोलनलाई हाम्रो उच्च सम्मान छ ।’
संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले जेन–जी आन्दोलनलाई बदनाम र असफल बनाउनेतर्फ जेन–जी अगुवा सचेत देखिएको पनि उनीहरूले औँल्याएका छन् । ‘नवयुवाको यस आन्दोलनमा घुसपैठ गरेर अनावश्यक आगजनी, तोडफोड र लुटपाट गर्नेहरूलाई स्वयं जेन–जीका जिम्मेवार प्रतिनिधिहरूले निन्दा गरेका छन् र निष्पक्ष छानबिन आयोगको गठनको माग गरेका छन्, जसमा हाम्रो पूर्ण समर्थन छ । यसका साथै यिनीहरूले जसरी पनि राजनीतिक दलको नेतृत्व कब्जा गरिरहने र पालैपालो सरकार चलाउने मुख्य नेताहरूको बहिर्गमन हुनुपर्छ भन्ने माग गरेका छन्,’ उनीहरूले भनेका छन्, ‘उनीहरू संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको र नयाँ निर्वाचनका लागि बनेको वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने बताइरहेका छन् । संविधानलाई असफल बनाउने र मुलुकलाई फेरि भूराजनीतिक दबाब र अस्थिरतातर्फ धकेल्ने कुनै पनि गतिविधिले यस आन्दोलनलाई बदनाम र असफल बनाउँछ भन्ने कुरामा उनीहरू सचेत देखिन्छन् ।’
प्रगतिशील, लोकतान्त्रिक, समावेशी, न्यायपूर्ण र विकसित नेपालका लागि अग्रजहरूले करिब नौ दशकसम्म गरेको संघर्षको पछिल्लो प्रतिनिधि पुस्ताका रूपमा जेन–जीले उभ्याएको भन्दै यस्तो सुझबुझ र जिम्मेवारी बोधलाई उच्च प्रशंसा र ऐक्यबद्धता प्रकट गरेको उनीहरूले बताएका छन् ।
संयुक्त आह्वान गर्नेहरू
अरविन्द्र सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुली, जटिल कार्की, जेबी विश्वकर्मा, नवीन तिवारी, नीराजन पौडेल, पासाङ डोल्मा, प्रकाश देवकोटा, प्रकाश पौडेल, प्रकाश श्रेष्ठ, प्रतीक कार्की, भरत महतारा, भावना घिमिरे, भावना शाह, ममता अधिकारी, महेश पाण्डेय, राजेश राई, राजेन्द्र परियार, राधिका परियार, रोमश खतिवडा, रोशन रिमाल, विराज थापा, समकृति पुन, सबल दाहाल र सन्दीप पुन छन् ।