काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आन्दोलनकारीबाट अवरोध हुँदा सिंहदरबारको आगो तत्काल निभाउन नसकिएको बताएका छन्।
सिंहदरबार जल्दा महानगरपालिकाले दमकल नपठाएको भन्दै प्रश्न उठिरहेको वेला मेयर शाहले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्। तथ्यविना अफवाह फैलाइएको भन्दै उनले देश नै अस्तव्यस्त हुँदा पनि काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि नहटेको जिकिर गरेका छन्।
‘त्यो दिन (भदौ २४) राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो। एक हिसाबले भनौँ त्यो वेला राज्य नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन, तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन,’ मेयर शाहले फेसबुकमा लेखेका छन्।
सो दिन सुरक्षा संयन्त्र र सरकार नरहेको तथा प्रहरीले आफ्नो चौकी जोगाउनसमेत नसकेको पूर्ण अराजक स्थिति रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरे तापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन। नेपाली सेनाको दमकल सिंहदरबारभित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन।’
भिड केही शान्त हुनेबित्तिकै २४ गते साँझ ८ः१५ भित्रै काठमाडौं महानगरको दमकल सिंहदरबार पुगेको उनले प्रस्ट पारेका छन्। आन्दोलन सुरु भएको दिन २३ गतेदेखि २८ गतेसम्म महानगरको दमकल काठमाडौंका विभिन्न स्थानमा ५५ भन्दा बढी पटक पुगेको बताउँदै शाहले टाइमलाइनसहित उल्लेख गरेका छन्।
साथै संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगरले घाइतेको निःशुल्क उपचारलाई समन्वय तथा स्वास्थ्यकर्मी, औषधि, रगत व्यवस्थापन, बिरामी तथा कुरुवाका लागि निःशुल्क खाना र खाजाको व्यवस्था गरेको बताएका छन्।