लगातार शनिबार र आइतबारको भीषण वर्षापछि मधेशका अन्य जिल्लामा जस्तै पर्साको जनजीवन पनि प्रभावित बनेको छ । बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण यसपटक पर्सामा भारीदेखि अति भारी वर्षा भएको छ ।
जसकारण नदी र खोलामा बाढी आउँदा पर्साका अधिकांश बस्ती डुबानमा परेका छन् । मानवीय क्षति नभए पनि भौतिक संरचना र सडकमा व्यापक क्षति भएको छ । सिर्सिया नदीको जलस्तर बढेर बस्तीमा पस्दा वीरगन्ज महानगरपालिकाका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ९, १०, ११, २२, २३ र २४ मा दर्जनभन्दा बढी बस्तीमा बाढी पसेको हो । वीरगन्ज महानगरपालिका– ११ रानीघाट नदीछेउमा बस्दै आएका ५० घरका दलित परिवार अहिले धर्मशालामा बसिरहेका छन् । उनीहरू सार्वजनिक धर्मशालामा सामूहिक रूपमा दुई दिनदेखि बसिरहेका हुन् ।
शनिबार परेको अविरल वर्षाका कारण फुसको घरमा पानी पसेपछि सुरक्षाकर्मीहरूको आग्रहमा घरबाट बाहिरिएको शान्तिदेवी डोमिनले बताइन् ।
उनका अनुसार अहिले घरमा पानी पसेपछि घर नै डुबानमा परेको छ भने घरमा रहेको सबै सामग्री नष्ट भएको अवस्था छ । १५ जना परिवारका सदस्यहरू अहिले धर्मशालामा बस्दै आएको बताउँदै उनले प्रहरी र स्थानीय जनप्रतिनिहरूले खाना खुवाउँदै आएको सुनाइन् । एक धुर जग्गा नभएका कारण भाडामा जमिन लिएर बनाएको अस्थायी फुसको टहरामा पानी पसेपछि सबै डुबेर बस्न नसक्ने अवस्थामा पुगिसकेकाले सरोकारवाला निकायसँग सहयोग गर्न उनले आग्रह गरिन् ।
सोही बस्तीकी ललसादेवी पनि अहिले घरमा बर्खाको पानी पसेपछि सार्वजनिक धर्मशालामा परिवारलाई लिएर बसेकी छिन् । उनले पनि खानाको अहिले समस्या नभए पनि घर नै डुबानमा परेकाले समस्या भएको गुनासो गरिन् । अहिले उनका पाँचजना घरका सदस्य सार्वजनिक धर्मशालामा आश्रय लिएर बसेका छन् ।
प्रहरीको आग्रहमा घरबाट निस्केर नजिक नै रहेको धर्मशालामा नाैजना परिवारका सदस्यहरूसँगै हरिन्द्र मली डोम पनि बस्दै आएका छन् ।
लगातार परेको अविरल वर्षाले घरको सबै खाद्यान्नलगायतका महत्त्वपूर्ण सामग्री जोगाउन नसकिएको दुःखेसो छ । एकमुठी पनि खाद्यान्न निकाल्न सकिएको छैन, घरमा रहेका लत्ताकपडा, कागजात सबै घरभित्रै छन् । सबैतिर डुबेका कारण घरसम्म जान सक्ने अवस्था छैन । बाढीले प्रभावित भएपछि घरमा रहेका साना बालबालिकालाई पनि धर्मशालामा बस्नुपर्दा झन् समस्या भएको हरिन्द्रको दुःखेसो छ ।
निरन्तरको वर्षाले स्थानीय खोलानालामा पानीको बहाव बढेका कारण घरमा ठुलो क्षति पुगेको छ । अहिले डुबानको समस्या आकाशको पानीको निकास नहुँदा भएको हो । आकाशबाट पानी परेका कारण झन्डै जिल्लाका पाँच सय घर परिवार प्रभावित भएका छन् ।
डुबानमा परेका बस्तीबाट मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी जानकारी दिए ।
उनका अनुसार विद्यालय, धर्मशाला, क्लबका भवनलगायतमा लगेर राखिएका उनीहरूलाई वीरगन्ज उद्योग वाणिज्य संघको समन्वय वीरगन्ज महानगरपालिकाले ड्राइफुड, पानी र आवश्यक औषधि वितरण भइरहेको प्रजिअ अर्यालले बताए । घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरूलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानमा राखिएको बताए ।