सुदूरपश्चिममा लगानी भित्र्याउने उद्देश्यले प्रदेश सरकारले गर्ने भनेको सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन अनिश्चित भएको छ । सरकारले आगामी १ र २ मंसिरमा लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । यसअघि तीनपटक सारिएको लगानी सम्मेलन जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण मंसिरमा समेत नहुने देखिएको छ ।
गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीले आगजनी र तोडफोड गर्दा प्रदेश सरकारका सबैजसो संरचना नै तहसनहस बनेका छन् । लगानी सम्मेलन मूल आयोजक समितिका अनुसार क्षतिग्रस्त संरचना मर्मतलगायत व्यवस्थापनका काम गरेर प्रदेश सरकारका कामकाज सुचारु गर्न नै समय लाग्ने भएकाले लगानी सम्मेलन निर्धारित मितिमा गर्न सक्ने अवस्था छैन ।
मंसिरमा लगानी सम्मेलन गर्नका लागि प्रदेश सरकारले काठमाडौंमा सरोकारवालासँग धेरैपटक छलफल र अन्तक्र्रिया गरेको थियो । लगानी सम्मेलनको तयारीकै लागि प्रदेश सरकारले नेपाल सरकारका मन्त्री, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि, दातृ निकायलगायतको सहभागितामा गत जेठमा धनगढीमा पूर्वतयारी सम्मेलन गरिसकेको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले अहिले उत्पन्न परिस्थितिका कारण लगानी सम्मेलन स्थगित गरिएको बताए । ‘मंसिरमा लगानी सम्मेलन गर्ने भनेर तयारीका काम धेरै अगाडि बढिसकेका थिए, तर अहिलेको परिस्थितिमा हाललाई लगानी सम्मेलन स्थगित गरेका छौँ,’ उनले भने, ‘नयाँ मितिबारे छलफल भएको छैन ।’
लगानी सम्मेलनको तयारीको नाममा प्रदेशको अस्थायी राजधानी धनगढी तथा संघीय राजधानी काठमाडौंमा भएका छलफल, अन्तक्र्रिया र गोष्ठीलगायतमा लाखौँ खर्च भइसकेको छ । संघीय सरकार, लगानीकर्ता, दातृ निकायलगायत सरोकारवालासँग छलफल गर्न गत महिना मात्र प्रदेश सरकारको जम्बो टोली काठमाडौं गएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार चालू आर्थिक वर्षको हालसम्म लगानी सम्मेलनको तयारीमा करिब ३० लाख खर्च भइसकेको छ । सरकारले लगानी सम्मेलनका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ ।
सरकारले लगानीमैत्री वातावरण बनाउन केही कानुन निर्माण गर्ने र प्रदेशले बनाएका केही कानुन संशोधन गर्ने तथा योजनाहरूको ‘सोकेस’ तयार पार्ने बताएको थियो । तर, लगानी सम्मेलनलाई लक्षित गरी योजनाहरू पहिचान गरी सोकेस तयार पार्ने, आवश्यक कानुन निर्माण तथा संशोधनको काम हुन सकेको छैन ।
प्रदेश सरकारले आवश्यक तयारी गर्न नसकेपछि लगानी सम्मेलनको मिति यसअघि तीनपटक सारेको थियो । सरकारले २३ र २४ फागुन ०८० मै लगानी सम्मेलन गर्ने घोषणा गरेको थियो । उक्त समयमा हुन सकेन । सारिएको असोज ०८१ मा पनि हुन नसकेपछि १ र २ असोज ०८२ मा सारिएको थियो । आगामी मंसिरमा लगानी सम्मेलन गर्न मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा सम्मेलन मूल आयोजक समिति, आर्थिक मामिलामन्त्री थापाको संयोजकत्वमा कार्यकारी समिति र तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको थियो । त्यस्तै, नीति तथा कानुनी सुधार उपसमिति, लगानीकर्ता पहिचान समिति, लगानीकर्ता क्षेत्र समन्वय तथा सहजीकरण उपसमिति, परियोजना पहिचान तथा विकास उपसमिति, प्रचारप्रसार उपसमिति गठन गरिएका थिए ।
मन्त्री थापाले काठमाडौंमा हालै भएको छलफलमा उद्योग–व्यवसायीले सुदूरपश्चिममा लगानी गर्न इच्छा देखाएको दाबी गरे । कृषि, ऊर्जा, जडीबुटी, उद्योगलगायत क्षेत्रमा लगानीको प्रतिबद्धता आएको थियो । ‘हामीले व्यावसायिक घराना, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सलगायत संस्थागत र व्यक्तिगत भेटघाट गर्दा ठुलो लगानीको प्रतिबद्धता आएको थियो । व्यवसायीका रुचिअनुसार योजनाहरू अगाडि बढाउने सरकारको तयारी थियो,’ उनले भने ।