दलित बस्तीको घर तोडफोड र लुटपाट प्रकरण : वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध जाहेरी

मंगलबार, २१ असोज, २०८२
डिजिटल संस्करण

सिराहाको कल्याणपुर नगरपालिका– ८ अरङ गाउँको दलित बस्ती तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । स्थानीयले वडाध्यक्षसहित १३ जनाविरुद्ध जाहरी दिएपछि प्रहरीले यादवलाई पक्राउ गरेको हो ।

गत शुक्रबार गुन्डागर्दी शैलीमा प्रहरीकै अगाडि घर तोडफोड गर्ने र लुटपाटमा संलग्न स्थानीय प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामती र भिडलाई अन्यत्र बसेर उक्साएको आरोप लागेका वडाध्यक्ष यादवसहित १३ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको हो । पीडितहरूले इलाका प्रहरी कार्यालयमा आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएको बताए । 

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको बताए । 

करिब ६ दशकदेखि सार्वजनिक पोखरीको डिलमा झुपडी बनाएर बसोवास गर्दै आएका पासमान समुदायका दलितहरूको उठीबास गराउन कांग्रेसबाट वडाध्यक्ष जितेका यादवले केही दिनअघि वडाबाट सिफारिससमेत दिएको बताइएको छ । ‘सार्वजनिक पोखरीको डिल खाली गराउन भनेर वडाले सिफारिस दिएको भर्खरै सुन्यौँ, तर अहिलेसम्म कसैले पनि त्यो विषयमा भनेका थिएनन्,’ ५४ वर्षीय राजकुमार पासमानले भने, ‘दलितलाई जे गर्दा पनि हुन्छ भन्ने सामन्ती सोचका कारण मेलामा भएको सामान्य विवादको निहुँमा हाम्रो झुपडी तोडफोड र लुटपाट गरियो ।’

गत १ असोजमा गाउँमा ल्याइएको आर्केस्ट्रामा मदिरा सेवन गरेर पुगेका स्थानीय प्रभाससिंह राजपुतसँग दलित युवाहरूको सामान्य विवाद भएपछि उनले बस्ती उठाइदिन्छु भन्दै धम्क्याएको पीडित बताउँछन् । त्यसलगत्तै कल्याणपुर प्रहरीमा ३ असोजमा शान्ति–सुरक्षाको माग गर्दै पीडितहरूले निवेदन दिएका थिए । १२ असोजमा राखिएको छलफल स्थगित भएपछि २१ असोजका लागि तोकिएको स्थानीय सोभित पासमानले बताए ।

स्थानीय प्रभास सिंह, नितेश सिंह, सलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइन, रामनारायण सिंह, लक्ष्मी सिंहलगायत २०–२५ जनाको समूहले दलित बस्तीका घर तोडफोड गर्नुका साथै घरमा रहेका सामान, सुनचाँदी, नगद लुटेर लगेको पीडितहरूको आरोप छ । युवाहरूको समूहले राजकुमार पासमान, सोभित पासमान, रासलाल पासमान, बिन्दे पासमान र अशोक पासमानको घर तोडफोड गर्दै घरआँगनमा रहेको केरा, कागती, आँप, अम्बाका बोट भाँच्नुका साथै सुनचाँदीका गहना, नगद, अनाज फर्निचर लुटपाट गरेर लगेका थिए । 

चार दिनपछि बस्तीमा जनप्रतिनिधि 
बस्ती तोडफोड र लुटपाट भएको चार दिनपछि सोमबार कार्यवाहक नगरप्रमुख रेखाकुमारी यादवले पीडितहरूसँग भेटघाट गरेकी छिन् । भेटघाटपछि यादवले बसोवासका लागि पालिकाले सघाउने आश्वासन दिएको पीडितहरूको भनाइ छ । त्यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्मासहितको टोली बस्ती पुगेको थियो । बस्तीको स्थलगत अनुगमन र पीडितहरूसँग कुराकानीसँगै जिल्ला सुरक्षा समितिबाट पाँच पीडित परिवारलाई कम्बल, झुल र त्रिपाल दिइएको प्रहरी प्रमुख शर्माले बताए । घर तोडफोडलगत्तै दुई दिनसम्म लगातार परेको वर्षामा भत्किएकै घरमा त्रिपाल हालेर बालबालिका, वृद्धवृद्धाले जसोतसो रात काट्दै आएको पीडित ६५ वर्षीया दुखनीदेवी पासमानले गुनासो गरिन् । ‘घरमा भएको अन्नपातसमेत लुटेर लगेकाले एकछाकसमेत राम्ररी खान पाएका छैनौँ,’ उनले भनिन् ।

सुझावित समाचार