अविरल वर्षापछि अवरुद्ध हेटौँडा–काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडकखण्ड पुनः सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३, सिस्नेरी बजारनजिक डोडारे खोलाले सडकको केही भाग कटान गरेपछि आवागमन बन्द भएको सडक दुई दिनको मर्मतपछि सोमबारदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
डोडारे खोलाले बगाएको खण्डमा मर्मत भएपछि सो मार्ग हुँदै सवारीसाधनलाई काठमाडौं पठाउन थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए। उनका अनुसार यसै सडक खण्डअन्तर्गत दक्षिणकाली मन्दिरनजिकै खसेको ठुलो पहिरो पनि हटाइएपछि बाटो खुलाइएको हो।
निरीक्षक सापकोटाका अनुसार कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्ड हेटौँडा र काठमाडौंलाई जोड्ने प्रमुख वैकल्पिक मार्गमध्ये एक हो। वर्षाका कारण तीन दिनदेखि अवरुद्ध रहेको यो सडक सञ्चालनमा आएपछि आवागमन सहज बन्दै गएको छ।
यसअघि सोमबार बिहानैदेखि हेटौँडाबाट काठमाडौं पुग्नका लागि पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ र कुलेखानी–फाखेल सडकमार्ग सञ्चालनमा आएका थिए। तर, कान्तिलोकपथ भने अझै अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए।
उनका अनुसार कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका– ८, वगुवा खोलानजिक खसेको ठुलो पहिरोका कारण उक्त सडक पूर्ण रूपमा बन्द छ। पहिरो पन्छाउन डोजर परिचालन गरिएको र आज साँझसम्म सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले जानकारी दिए।
लगातारको वर्षाका कारण मकवानपुर हुँदै काठमाडौं आवतजावतमा समस्या उत्पन्न भएको थियो। अहिले क्रमशः सडकहरू सञ्चालनमा आएसँगै यात्रु र सवारीसाधनको आवागमन सहज हुँदै गएको प्रहरी निरीक्षक सापकोटाले बताए।