द्वन्द्वग्रस्त मध्यपूर्वमा अहिले फेरि राजनीतिक र आर्थिक अशान्ति थप सघन बनेको छ । र, धेरैको नजर नगए पनि यो क्षेत्र जलवायु संकटमा फस्दै गएको छ । सन् २०२३ मा ‘कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिस’को विश्वव्यापी थिंकट्यांकले निकालेको निष्कर्षअनुसार मध्यपूर्वी देशहरू ‘मानवनिर्मित जलवायु परिवर्तनको द्रुत प्रभावको हिसाबमा विश्वको सबैभन्दा बढी जोखिममा रहेका राज्यमध्ये पर्छन् । त्यस भेगले तापलहर, घट्दो वर्षा, लामो खडेरी, बाढी र तीव्र बालुवाको आँधी र बढ्दो समुद्री सतह सबैको असर भोगिरहेको छ ।’
जलवायु परिवर्तनविरुद्ध प्रभावकारी प्रतिक्रियामा जलवायु परिवर्तनसम्बन्धी जानकारी प्राप्त गर्ने, प्रशोधन गर्ने र कदम चाल्ने क्षमता पर्छन् । यसमा मिडियाले महत्वपूर्ण भूमिका खेल्ने गर्छ । विशेषतः जलवायु परिवर्तन र यसको व्यक्तिगत, साम्प्रदायिक र राष्ट्रिय सुरक्षासँगको सम्बन्धबारे आममानिसलाई बुझाउन मिडियाले ठुलो भूमिका खेल्न सक्छ । तर, विगत दुई दशक वा सोभन्दा बढी समयको मिडिया कभरेज हेर्ने हो भने मध्यपूर्वको जलवायु परिवर्तनको विषय निकै कम उठ्ने गरेको छ । कोलोराडो विश्वविद्यालयअन्तर्गतको ‘बोल्डर्स मिडिया एन्ड क्लाइमेट चेन्स अर्भरभेटरी’का अनुसार, मध्यपूर्वका मिडिया संस्थाले अगस्ट २०२५ मा जलवायु परिवर्तनको बारेमा औसतमा लगभग एक लेख दिए । जबकि, सोही अवधिमा उत्तर अमेरिकी मिडियाका उही विषयमा लगभग ६६ लेख छापिएका थिए ।
आखिर, मध्यपूर्वमा जलवायु परिवर्तनको विषयमाथि मिडिया कभरेज किन यति कम छ त ? यसको जवाफ त्यहाँको मिडिया आउटलेटहरूले सामना गर्नुपर्ने धेरै संरचनात्मक समस्यामा भेटिन्छ । सशस्त्र द्वन्द्व नियन्त्रणबाहिर जाने सम्भावनाबिच जलवायु परिवर्तनको विषयमा कसरी कुरा गर्ने ? जब तत्कालीन महत्वपूर्ण मुद्दाले एकाधिकार पाउँछ बिस्तारै आइरहेको समस्या छायामा पर्दो रहेछ । यो चुनौतीबारे बुझ्न यसको समाधान कसरी गर्ने भनेर बुझ्न जोर्डन एक उपयोगी उदाहरण प्रस्तुत गर्दछ ।
जोर्डनका मिडिया
अस्थिर मध्यपूर्वमा जोर्डन लामो समयदेखि स्थिर शक्ति मानिँदै आएको छ । यसैले छिमेकी देशका द्वन्द्वबाट भागेका ठुलो संख्यामा शरणार्थीहरूको गन्तव्य सोही देश हुने गर्छन्, जसलाई उसले स्वीकार पनि गर्छ । त्यस्तै, शीर्ष तहमा पनि जोर्डनले मध्यपूर्वीका प्रतिद्वन्द्वी शक्तिबिच मध्यस्थकर्ता गरेर शान्ति स्थापनाको प्रयास गर्ने गर्छ । तथापि, जलवायु परिवर्तनले जोर्डनको स्थिरतालाई खतरामा पारिरहेको छ । जोर्डनका पानी तथा सिँचाइमन्त्री रैद अबु साउदले गत मे २०२५ मा भनेका यसै विषयमा जोड दिँदै भनेका थिए ः ‘जोर्डन विश्वको सबैभन्दा गम्भीर पानी संकटसँग जुधिरहेको छ । प्रतिव्यक्ति पानीको उपलब्धता वर्षको केवल ६० घन मिटरमा झरेको छ ।’
परिस्थिति बिगार्न धेरै कारकहरू जिम्मेवार छन् । जोर्डनको आर्थिक अविकसितले निरन्तर बेरोजगारी र सार्वजनिक अशान्ति निम्त्याइरहेको छ भने क्षेत्रीय द्वन्द्वले सामाजिक एकता कमजोर बनाइरहेको छ । जलवायु परिवर्तनले निम्त्याएको जोखिमलाई जोर्डनले कसरी प्रतिक्रिया दिन्छ भन्ने विषय यसको भावी स्थिरतासँग प्रत्यक्ष जोडिएको छ । र, यसको प्रभाव मध्यपूर्व र अन्त पनि अत्यन्त महत्वपूर्ण छ । प्रभावकारी प्रतिक्रियाका लागि यस चुनौतीबारे सार्वजनिक बुझाइ निर्णायक हुनेछ । र, यहीँनेर मिडियाको भूमिकामा प्रवेश गर्छ ।
हामीले जोर्डनको जलवायु परिवर्तन विषयमा अनुसन्धान गरेका थियौँ । अनुसन्धानका लागि देशका प्रमुख छापा मिडियामा छापिएका २५०० भन्दा बढी समाचार र विश्लेषण तथा स्थानीय मानिससँग व्यापक अन्तर्वार्ता लिइएको थियो । यसक्रममा, जोर्डनमा जलवायु परिवर्तन एक महत्वपूर्ण विषय बन्दै गइरहेको पाइयो । तर, त्यहाँ अझै जलवायु परिवर्तनसम्बन्धी व्यवस्थित छलफलले विभिन्न बाधा सामना गरिरहेका छन् । द्वन्द्वबाट प्रभावित अन्य धेरै देशमा जस्तै, जोर्डनमा पनि तत्कालीन संकटसामु जलवायु परिवर्तनसँग सम्बन्धित विषय छायामा पर्नु स्वाभाविक हो । सन् २०२३ देखि यता गाजामा इजरायले आक्रमण सुरु गरेदेखि जोर्डनका मिडियाले जलवायु परिवर्तनको विषयलाई घटाएर मानवीय संकटलाई बढी महत्व दिन थालेका छन् ।
यसमाथि जोर्डनमा जलवायुको मुद्दामा निरन्तर काम गर्ने र सही तथा समयमै तथ्य प्रदान गर्ने पत्रकारको संख्या धेरै कम छ । उसो त जलवायु पत्रकारको कमी मध्यपूर्वमा एक आमसमस्या हो । त्यस्तै, जोर्डनका मिडियाले जलवायु परिवर्तनलाई कभर गर्दासमेत यसलाई आफैँमा चुनौतीभन्दा प्रायः भूराजनीतिक परिणतीका रूपमा व्यक्त गरिन्छ । ठुलो संख्यामा शरणार्थीलाई शरण दिने देशको नीतिका कारण पनि हुन सक्छ जोर्डनका मिडियाले प्रायः आफ्नो देशलाई सिरियाको गृहयुद्ध र असहज इजरायल–प्यालेस्टाइन द्वन्द्वको ‘पीडित’को रूपमा चित्रण गरेका छन् । शरणार्थीलाई पहिले नै दुर्लभ स्रोतमाथि भारका रूपमा देखाइन्छ ।
विश्वासको क्षय
जोर्डनमा हुने जलवायु परिवर्तनसम्बन्धी बहस प्रायः विदेशी सरकार, परोपकारी संस्था र वित्तीय निकायजस्ता अन्तर्राष्ट्रिय साझेदारबाट धेरै प्रभावित हुने गर्छ । जोर्डनमा जलवायु परिवर्तनमा केन्द्रित असंख्य बाह्य लगानी भएका शैक्षिक र व्यावसायिक पाठ्यक्रम उपलब्ध छन्, जुन मिडिया पेसाकर्मीसहित विभिन्न दर्शकलक्षित छन् । यसले जलवायु परिवर्तनसम्बन्धी छलफल अगाडि बढाउन सहज त बनाउँछ, साथै यसले जलवायु विषयको कभरेजमा स्थानीय सन्दर्भ र ज्ञानलाई टाढा राख्ने जोखिम हुन्छ । बाह्य साझेदारहरूले जोर्डनले सामना गर्ने विशिष्ट चुनौतीलाई राम्ररी नबुझी साझेदारलाई जोर्डनवासीहरूलाई आवश्यक ठानेको कुरा मात्र ‘सिकाउँदा’ यो कुरा झन् सत्य साबित हुन्छ ।
यस्तो हर्कतले जोर्डनवासीहरू र विदेशी साझेदारहरूबिचको विश्वास कमजोर बन्न सक्छ । यसैले होला अध्ययनमा केही जोर्डनी पत्रकारहरूले जलवायु परिवर्तनको विषय पश्चिमले विकासशील देशलाई नियन्त्रण गर्ने उद्देश्यले लागू गर्न खाजेको एजेन्डाको हिस्सा ठानेको देखियो । जोर्डन मध्यपूर्व, युरोप र बाहिरका लागि अत्यन्त महत्वपूर्ण देश हो । जलवायु अनुकूलनको प्रभावकारीविना, यो देशले शरणार्थी आश्रय र क्षेत्रीय स्थिरीकरणकर्ताको आफ्नो भूमिका गुमाउने जोखिम छ ।
सरकारलाई जवाफदेही बनाउनेदेखि जलवायु मुद्दाहरूको बारेमा आमजागरुकता बढाएर मिडियाले मध्यपूर्वमा जलवायु परिवर्तनको बहसलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । अध्ययनले सार्वजनिक चासो प्रत्यक्ष रूपमा मिडिया कभरेजको संख्यासँग जोडिएको देखाएको छ । त्यसैले राजनीतिक र आर्थिक अशान्तिको समयमा पनि जलवायु कदमबारेमा दीर्घकालीन जनसहभागिता सुनिश्चित गर्न दिगो, समावेशी मिडिया कभरेज आवश्यक हुन्छ ।
(मारियाना पोबेरेजस्काया र इमाद एल–अनिस नटिंघम ट्रेन्ट विश्वविद्यालयकी अन्तर्राष्ट्रिय सम्बन्ध विषयकी सहप्राध्यापक हुन् भने मारवा मुस्तफा सोही विश्वविद्यालयका साहित्य, भाषाविज्ञान र संस्कृतिमा अनुसन्धान केन्द्रकी पिएचडी विद्यार्थी हुन् ।) द कन्भर्सेसनबाट