विराटनगर भन्सारमा मूल्यांकन डेटाबेस प्रणालीको परीक्षण सफल

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

सरकारले विराटनगर भन्सार कार्यालयबाट मूल्यांंकन डेटाबेस प्रणालीको सफल परीक्षण गरेको छ । प्रचलित सन्दर्भपुस्तिकालाई विस्थापित गरी विश्व व्यापार संगठनअन्तर्गतको ग्याट सम्झौतामा उल्लिखित र अधिकांश देशले प्रचलनमा ल्याएको मूल्यांकन विधि नेपालमा पनि सुरु भएको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल पाइलट प्रोजेक्टका रूपमा विराटनगरबाट सुरु भएको मूल्यांकन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीलाई आग्रह गरेका छन् । साथै, सबै भन्सार विन्दुमा उक्त सेवा सुरु गर्न पनि सरकारसँग आग्रह गरे । अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा पनि यो वैज्ञानिक विधि भएको र यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटो न्यून बिजकीकरण र अधिक बिजकीकरणको समस्यासमेत धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

१६ असोजमा अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेको डेटाबेस प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भपुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ । यस विधिमा जाँचपास भएका सबै वस्तुको मूल्य विवरण संग्रह गरिनेछ । सरकारका अनुसार यो भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो, जसले कारोबार मूल्य पहिचान गर्न सघाउँछ ।

व्यवसायीले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा डेटाबेस प्रणाली त्यसतर्फ सुरुवातको डिजिटल प्रक्रिया हो । नेपाल उद्योग वाणिज्य महासंघले ग्याट भ्यालुएसनअनुसार अनलाइन मूल्यांकन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएको थियो । मूल्य निर्धारण डब्ल्युटिओरग्याट भ्यालुएसन आर्टिकल ७ मा उल्लिखित विधिहरूको पूर्ण पालना गरी सोअनुरूप कारोबार मूल्य निर्धारण गर्नुपर्ने माग महासंघको छ ।

सुझावित समाचार