त्रिभुवन, कान्ति लोकपथ र सिस्नेरी सडकमा अवरोध कायमै

कुलेखानी–फाखेल सडकमा राति सवारी सञ्चालनमा रोक

सोमबार, २० असोज, २०८२
डिजिटल संस्करण

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौं जोड्ने अधिकांश सडक मार्ग अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडक एकतर्फी सञ्चालन रहे पनि त्रिभुवन राजपथ, कान्ति लोकपथ र कुलेखानी–सिस्नेरी सडकमा अवरोध कायमै छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले हेटौँडालाई काठमाडौंसँग जोड्ने भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकबाहेक अन्य सबै मार्ग पहिरोका कारण अझै पनि अवरुद्ध रहेको जानकारी दिए । उनका अनुसार त्रिभुवन राजपथका विभिन्न स्थानमा रुख ढलेका छन् भने केही स्थानमा पहिरोको समस्या छ । त्रिभुवन राजपथअन्तर्गत बाघमारा र महाभिर क्षेत्रमा पहिरो खसेको छ । पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातारको वर्षाले कठिनाइ भएको उनले बताए ।

भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक पनि अवरुद्ध छ । यस मार्गअन्तर्गत सिस्नेरी खण्डमा डोढारे खोलाले राजमार्ग नै बगाएपछि समस्या भएको हो । त्यसलाई पुरानै अवस्थामा ल्याउने काम भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए । यसै सडकखण्डको दक्षिणकाली मन्दिरनजिक पनि पहिरो गएकाले सिस्नेरी–दक्षिणकाली खण्डमा यातायात सञ्चालन असम्भव भएको उनको भनाइ छ ।

कान्ति लोकपथअन्तर्गत ठिंगनदेखि बगुवा खोलासम्म तीनवटा ठुला पहिरो खसेका छन्, जसले सडकका केही भागसमेत बगाएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ । कान्ति लोकपथमा हेटौँडादेखि बगुवा खोलासम्म नै सानाठुला गरी आधा दर्जनभन्दा बढी पहिरो गएको प्रहरी निरीक्षक सापकोटाले बताए । उनका अनुसार आइतबार साँझसम्म मुख्य सडक र जिल्लाका विभिन्न गाउँपालिकाका सदरमुकाम पुग्न सडकमा भएको अवरोधभन्दा अन्य कुनै ठुला घटनाका सूचना प्राप्त भएका छैनन् । उनले राक्सिराङ र कैलाश गाउँपालिकाको कार्यालयसम्म पुग्ने मार्गको केही स्थानमा बाढी र पहिरोले क्षति पु¥याएको बताए ।

मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार अवरुद्ध सडकहरूमा डोजर परिचालन गरी पहिरो पन्छाउने प्रयास भइरहेको छ । अविरल वर्षापछि भएको क्षतिको विवरण संकलनको काम भइरहको उनको भनाइ छ । प्रजिअ श्रेष्ठले लगातारको वर्षाका कारण कतिपय स्थानमा सम्पर्क हुन नसकेकाले पनि तत्काल क्षतिको विवरण संकलन हुन नसकेको बताइन् । 

अविरल वर्षा रोकिएपछि आइतबार बिहानबाट सञ्चालनमा आएको हेटौँडा–काठमाडौं आवागमन पुनः आइतबार साँझदेखि रोकिएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । उनका अनुसार सुरक्षाका कारण मकवानपुरका विभिन्न मार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारीसाधनलाई अस्थायी रूपमा रोक लगाइएको छ । काठमाडौंतर्फ जाँदै गरेका सयौँ सवारीसाधनमध्ये केही हेटौँडामै रोकिएका र केहीले वैकल्पिक मार्गको प्रयोग गरेका छन् । हेटौँडा उपमहानगरपालिका– १ चौकीटोलदेखि माथिल्लो भागतर्फ सवारी सञ्चालनमा रोक लगाइएको उनले बताए । 

यसअघि आइतबार बिहान भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ मार्ग हुँदै काठमाडौं आवतजावत खुला गरिएको थियो । तर, इन्द्रसरोवर गाउँपालिका– ४ महालक्ष्मी खोलानजिक निरन्तर पहिरो झरिरहेकाले र रातिको समयमा सुरक्षाको चुनौती बढेपछि पुनः रोक लगाइएको प्रहरी निरीक्षक सापकोटाले बताए । ‘अहिले पनि महालक्ष्मी खोलाआसपासका क्षेत्रमा पहिरो झरिरहेको छ । सडकमाथिबाट ढुंगा–माटो खस्ने क्रम रोकिएको छैन,’ उनले भने, ‘सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै आइतबार साँझदेखि सोमबार बिहानसम्मका लागि यातायात सञ्चालनमा रोक लगाएका हौँ ।’ 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणले जारी गरेको सूचनाअनुसार लगातारको वर्षाले पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेकाले रातिको समयमा उपत्यका प्रवेशमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय र प्रहरीले जनाएको छ ।

सुझावित समाचार