दसैँको बिदापछि आजदेखि सरकारी कार्यालयमा सेवा सञ्चालन हुने भएको छ । मनसुनजन्य विपत्को जोखिमका कारण गृह मन्त्रालयले १९ र २० असोजमा सार्वजनिक बिदा दिने निर्णय गरे पनि मौसम सफा हुँदै गएपछि सोमबार भने कार्यालय खोल्ने निर्णय गरिएको हो ।
गृह मन्त्रालयले आइतबार ७७ जिल्ला प्रशासनलाई नै परिपत्र गरी विपत् जोखिम तथा प्रतिकार्यमा संलग्न नरहेका जिल्लाहरूले सार्वजनिक सेवा नियमित गर्न निर्देशन दिएको हो । सोहीअनुसार काठमाडौंसहित सबैजसो जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि सेवा सुरु गर्ने भएका छन् । अन्य सरकारी कार्यालयलाई समेत सेवा सञ्चालन गर्न भनिएको छ ।
विपत्को जोखिमका कारण सोमबारसम्म लामो दूरीका यातायात बन्द गरिएपछि सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । यातायात बन्द भएसँगै कर्मचारीहरूसमेत फर्कन समस्या हुने भएपछि बिदा दिने निर्णय भएको थियो । पूर्वी नेपालका केही जिल्लाबाहेक अन्यत्र आइतबारदेखि मौसममा सुधार भएपछि सोमबारदेखि सरकारी कार्यालय खोल्न लागिएको हो ।
यो वर्षको दसैँको नियमित बिदा १८ असोजसम्म थियो । वर्षाका कारण बिदा लम्बिएको हो ।
त्यस्तै, गृह मन्त्रालयले परिस्थिति हेरेर राजमार्गहरू सञ्चालन गर्ने वा बन्द गर्ने अधिकार पनि सिडिओलाई दिएको छ । भारी वर्षाको आकलनपछि विभिन्न राजमार्गहरू रातको समयमा बन्द गर्ने निर्णय भएको थियो । धेरै राजमार्गमा त्यो नियम हटेको छ ।