विपत् समन्वय समितिको आग्रह– भोलिसम्म पर्यटकलाई पदयात्रामा नपठाऔँ

बढी मूल्यमा हवाई टिकट नबेच्न र यथासम्भव उडानहरू थप गरी यात्रा सहजीकरण गर्न आग्रह

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

जिल्ला प्रशासन कार्यालय कास्कीले पर्यटकहरूलाई भोलि (२० असोज)सम्म पदयात्रामा नपठाउन आग्रह गरेको छ । यस्तै, भाडादरभन्दा बढी मूल्यमा हवाई टिकट नबेच्न र यथासम्भव उडानहरू थप गरी यात्रालाई सहजीकरण गर्न सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा आइतबार विपत् जोखिम न्यूनीकरण, यातायात व्यवस्थापन, पर्यटन व्यवस्थापनलगायतका समसामयिक विषयमा सरोकारवाला निकायहरू (निजी क्षेत्र, पर्यटन व्यवसायी, यातायात व्यवसायी, होटेल व्यवसायी, रेस्टुरेन्ट व्यवसायी, रेडक्रस, नागरिक समाज आदि) सहभागी विपत् समन्वय बैठकले बैठकले गरेको निर्णय सार्वजनिकसहित सरोकारवालाहरूलाई सो अनुरोध गरेको हो ।

बैठकले विभिन्न १० वटा निर्णय गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शिव लम्सालले जानकारी दिए । बैठकले हवाई सेवा उपलब्ध गराउने कम्पनीहरूले नेपाल सरकारले तोकेको हवाई भाडादरभन्दा बढी मूल्यमा टिकट नबेच्ने, यथासम्भव उडानहरू थप गरी यात्रालाई सहजीकरण गर्ने र वैदेशिक यात्राका लागि जाने हवाई टिकट भएका यात्रुलाई विशेष प्राथमिकताका साथ टिकट उपलब्ध गराउन अनुरोध गरेको लम्सालले जानकारी दिए ।

२० असोजसम्म वर्षाको पूर्वानुमान रहेकाले तत्कालका लागि पर्यटकहरूलाई पदयात्रामा नपठाउन पर्यटन व्यवसायी, होटेल व्यवसायी, ट्रेकिङ व्यवसायीहरूलाई समन्वय गर्न बैठकले अनुरोध गरेको छ ।

बैठकले सवारीसाधनको आवतजावतमा रोक लगाइएको कारण राजमार्गमा एम्बुलेन्स, गर्भवती तथा अशक्त व्यक्तिहरू बोकेका सवारीसाधन रोकिएको भए यात्रामा आवश्यक सहजीकरण गर्न, तत्कालका लागि यातायात व्यवसायीहरूले काठमाडौं उपत्यका र पूर्वतर्फ जाने लामो दूरीका सवारीसाधनको कुनै टिकट नकाट्ने व्यवस्था मिलाउने, लामो दूरीका सवारीसाधनको आवतजावतमा रोक लगाइएको भए पनि गन्तव्यस्थल र रुटमा पर्ने जिल्लाको जोखिम अवस्था बुझेर एम्बुलेन्स, वैदेशिक यात्राको हवाई टिकट बोकेका यात्रुहरू र बिरामी बोकेका साना सवारीसाधनलगायतका अत्यावश्यक (दुध, फलफूल, तरकारी, खाना पकाउने ग्यास आदि बोकेका) साना सवारीसाधनहरूलाई प्रहरी तथा ट्राफिक प्रहरीले अन्तरजिल्ला समन्वय गरी आवतजावतमा आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।
 

सुझावित समाचार