बाढी र कटानको उच्च जोखिम रहेको सिरहाको पश्चिमवर्ती कमला तटीय क्षेत्रमा पर्ने कल्याणपुर नगरपालिका ५ र ६ नं वडा क्षेत्रमा शनिबार अपराह्नदेखि नै बिजुली नहुँदा स्थानीयले सास्ती खेप्नु परेको गुनासो गरेका छन्।
बस्तीनजिकै बाँधबराबर कमलामा बाढी उर्लिरहेकाले बस्तीमा बाढी पस्ने जोखिमबिच रातभर विनाबिजुली जाग्राम बस्नुपरेको कल्याणपुर– ६, भोक्राहाका धीरेन्द्र साहले गुनासो गरे। ‘बाढीले बाँध कटान गरेर बस्ती पस्यो भने खबर गर्न मोबाइलसमेत चार्ज गर्न पाइएको छैन,’ उनले भने, ‘राति त जसोतसो टुकी बालेर पनि बसौँला, तर सम्पर्कका लागि फोनसमेत चलाउन नपाइने अवस्था भएको छ।’
कल्यणपुर– ६ का वडाध्यक्ष दिनेश साहले शनिबार दिउँसैदेखि बिजुली नहुँदा वडा कार्यालयको इन्भर्टरबाट गाउँलेहरूको मोबाइल चार्ज गरिरहेको बताए। ‘इन्भर्टरको ब्याट्री पनि चार्ज हुन नपाएर नचल्ने अवस्था भइसकेको छ,’ उनले भने। सखुवानन्कारकट्टी गाउँपालिका– २, पटना गाउँमा रातिदेखि नै बिजुली नहुँदा समस्या भइरहेको शिक्षकसमेत रहेका स्थानीय रामसुफल यादवले गुनासो गरे।
नेपाल विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रका प्राविधिक नरेश चोरवारले लहान विष्णुपुर– ३३, केभी प्रसारणलाइनको दुई–तीन ठाउँमा वर्षासँगै परेको चट्याङका कारण पिनडिस खसेको, रुख बाँस ढलेकाले विद्युत् अवरुद्ध भएको जानकारी दिए। ‘विद्युत् अवरुद्ध भएपछि आइतबार बिहान ६ बजेदेखि नै प्राविधिकहरूको दुई टोली मर्मतका लागि खटिएका छन्,’ उनले भने, ‘धनगढीसम्म लाइन नियमित भएको छ, त्यहाँबाट पश्चिम चल्न नसकेकाले समस्याको पहिचान गर्दै छौँ।’ उनका अनुसार सिराहा वितरणअन्तर्गत सिराहा, विष्णुपुर, औरही, कल्याणपुर फिडरमा पर्ने केही ठाउँमा लगातारको वर्षाको कारण समस्या भए पनि प्राविधिकहरूको टोलीले काम गरिरहेका छन्।
मिर्चैया वितरण केन्द्रका प्रमुख मनोज शर्माका अनुसार मिर्चैया, कर्जन्हा, गोलबजारको १ नं. बाहेकको वडा, सुखीपुर ७, अर्नमा १, नरहा ३ र कल्याणपुरको ७ र ९ नं. वडा क्षेत्रमा बिजुली आपूर्तिमा समस्या नभएको बताए। ‘केही ठाउँमा ट्रान्सफर्मरको फ्युज गएकाले पुनः लगाएर विद्युत् आपूर्ति नियमित गरिएको छ,’ उनले भने।
लहान वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले १३२–११ अन्तर्गत बलान, लहान, सुखीपुर, ठाढी, सीतापुर, बस्तीपुर र जहदी फिडरमध्ये बस्तीपुरमा प्रसारणलाइनमा बाँस खसेकाले मर्मतको काम भइरहेकाले एकाध घण्टाभित्र विद्युत् आपूर्ति नियमित हुने बताए। ‘अन्य फिडरहरूमा विद्युत् आपूर्ति रोकिएको छैन,’ उनले भने। उनका अनुसार भगवानपुर फिडरअन्तर्गत भगवानपुर र नवराजपुर क्षेत्रका केही ठाउँमा पोल ढलेको र उठाएर अर्को ठाउँमा गाड्न पनि गाह्रो भइरहेकाले विद्युत् आपूर्ति रोकिएको हो।
विपतका वेला प्रमुख बिदामा
संघीय सरकारसहित आफ्नोमातहतका तालुकदार निकायले अत्यावश्यक सेवा प्रदान गर्ने निकायका कार्यालय प्रमुखहरूलाई कार्यालय नछोड्न निर्देशन दिएको भए पनि नेपाल विद्युत् प्राधिकरण सिराहा वितरण केन्द्रका प्रमुख बासुकीनाथ झा दसैँको बिदामा गए पनि आइतबार दिउँसोसम्म फर्किएका छैनन्।
यस्तो विपतका वेला अत्यावश्यक सेवाअन्तर्गत पर्ने कार्यालयका प्रमुख नै बिदामा बसेर गैरजिम्मेवारीपन देखाएको सिराहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बताए। ‘सार्वजनिक बिदा नै भए पनि अप्ठ्यारो वेलामा कार्यालयमै बसेर प्राविधिक कर्मचारी परिचालनमा खटिनुपर्ने व्यक्ति नै बिदामा बसेको पाइएको छ,’ उनले भने, ‘यस्तो गम्भीर विषयमा सम्बन्धित निकायको माथिल्लो तहमा कुरा गरिसकेका छौँ।’