शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर हुँदै काठमाडौं जोड्ने अधिकांश सडकहरू अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा रहेको छ भने त्रिभुवन राजपथ, कान्ति लोकपथ र सिस्नेरी सडकखण्डमा अझै पनि अवरोध कायमै छ ।
प्रहरी निरीक्षक ठाकुर सापकोटाले सडक अवरुद्ध भएपछि हेटौँडामा रोकिएका सवारीसाधनलाई शनिबारदेखि भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकमार्ग हुँदै काठमाडौंतर्फ पठाउन थालिएको जानकारी दिए । उनका अनुसार हेटौँडामा अड्किएका करिब ५० वटा यात्रुवाहक सवारीमध्ये बिहान ९:३० बजेसम्म करिब १५–२० वटा सवारी काठमाडौं प्रस्थान गरिसकेका छन् ।
निरीक्षक सापकोटाका अनुसार त्रिभुवन राजपथका विभिन्न स्थानमा ढुंगा खसेर र रुख ढलेर बाटो बन्द भएको छ भने कान्ति लोकपथअन्तर्गत भीमफेदी– ८, बगुवा खोलानजिक डाइभर्सनमा माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यस्तै, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा डोढारेखोलामा आएको बाढी र अन्य स्थानमा खसेका पहिरोका कारण सडक बन्द भएको प्रहरीले जनाएको छ ।
हाल वैकल्पिक रूपमा सञ्चालनमा रहेको भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ सडकमार्गमै यात्रा गर्नुपर्ने अवस्था छ । तर, इन्द्रसरोवर गाउँपालिका– ४, महालक्ष्मी खोलानजिक लगातार पहिरो खस्ने जोखिम रहेकाले प्रहरी निरीक्षक सापकोटाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेका छन् ।
उनले यात्रुहरूलाई यात्रा अघि जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा सडक डिभिजनसँग सम्पर्क गरी मात्रै यात्रा गर्न पनि सुझाव दिएका छन् ।