कोशी ब्यारेज पुलबाट आवत–जावत बन्द

आइतबार, १९ असोज, २०८२
डिजिटल संस्करण

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव अत्यधिक चरम खतराको तह पार गरेपछि सवारी आवागमनमा अनिश्चितकालका लागि रोक लगाइएको छ।
बिहान ९ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव चार लाख ३१ हजार ५२५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।  

जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि यातायातका साधन आवजतावमा रोक लगाएको हो।
‘पानीको बहाव अत्यधिक बढेको छ। त्यसैले अर्को सूचना नआएसम्म सवारीसाधनलाई रोक लगाइएको हो,’ सप्तरीका डिएसपी डम्बरबहादुर पुरीले नयाँ पत्रिकासँग भने। 

उनका अनुसार कोशी ब्यारेजका सबै ढोका खोल्दा पनि पानीको मात्रा कम हुने संकेत नदेखिएपछि सम्पूर्ण आवागमन बन्द गरिएको हो। 

कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख क्युसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरूमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोशी ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।   

१३ असोज ०८१ मा ६ लाख ६१  हजार क्युसेक पानी कोशी ब्यारेजमा मापन गरिएको थियो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार ५६ वर्षयता सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको थियो । कोशी नदीको पानी कोशी ब्यारेजको पुलमाथिबाट बग्न थालेको थियो। ब्यारेजको ३७ देखि १ नम्बरसम्मको ढोकानजिक भएर पुलमाथिबाट पानी बगिरहेको थियो ।  

०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वीतटबन्ध भत्काएको थियो। त्यति वेला कोशीले पूर्वीतटबन्ध भत्काउँदा कोशी गाउँपालिकाका चारवटा मानवबस्तीमा पसेको थियो। त्यति वेला सप्तकोशी नदीले पूर्वीतटबन्ध भत्काउँदा सात हजार ५६३ परिवार विस्थापित भएका थिए।

सुझावित समाचार