शनिबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी इलाममा १८ जनाको मृत्यु भएको छ । जिल्लाको विभिन्न ठाउँमा १८ जनाकाे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलले जानकारी दिए ।
इलामको मानेभञ्ज्याङमा सबैभन्दा धेरै पाँचजनाको मृत्यु भएको उनले बताए । त्यहाँ चारजनाको शव घटनास्थलमै भेटिएको र एकजनाको खाेजीका क्रममा भेटिएको उनले बताए । नेपाल–भारत सिमानाछेउमा भएका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मी एसएसबीको सहयोगमा उद्धार गरिएको उनले बताए । मृत्यु भएका १८ जनाको पहिचान हुन नसकेको उनले बताए ।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए ।
मृत्यु हुनेमा सूर्योदय नगरपालिका– १, मानेभञ्ज्याङमा पाँचजना, माङसेबुङ गाउँपालिका– १, पाटीगाउँमा तीनजना, देउमाई नगरपालिका– ५, धारेमा एक जना, देउमाई नगरपालिका– ५, धुसुने दुईजना, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेमा एकजना र इलाम नगरपालिका– ५, घोसगाउँमा ६ जना गरी १८ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।