सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५० वटा ढोका खुला गरिएको छ। आइतबार बिहान ८ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव तीन लाख ३५ हजार ३६० क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।
कोशी ब्यारेजमा अहिले खतराको संकेत रातो बत्ती भने बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।
सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा सतर्कता बढाइएको छ। बहाव बढेसँगै सप्तरी प्रशासनले नदीमा डुंगा चलाउन, माछा मार्न र बाढीले बगाएर ल्याएका दाउरा झिक्न प्रतिबन्ध लगाएको छ।