अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

शनिबार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरूमा जलसतह बढ्दा तटीय बस्ती उच्च जोखिममा पर्ने भन्दै कांग्रेस बागमती प्रदेशले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

शनिबार बिहानैदेखि परेको वर्षा अझै तीन दिनसम्म निरन्तर रहने मौसमविद्हरूको प्रक्षेपणलाई उद्धृत गर्दै कांग्रेसले जारी विज्ञप्तिमा ठुला जनधन क्षतिको सम्भावना बढेकाले सचेत रहन आग्रह गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जारी गरेको अपिलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले विपत् पूर्वतयारीमा जुटी सम्भाव्य जोखिम क्षेत्रको पहिचान गर्न, त्यहाँका नागरिकलाई पूर्वजानकारी दिन र तत्काल उद्धार तथा राहत परिचालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यस्तै, बडादसैँको अवसरमा टीका–आशीर्वाद लिन जाने र फर्कने क्रममा लामो दूरीको यात्रासमेत भइरहेको परिस्थितिमा अझै बढी सतर्कता आवश्यक रहेको कांग्रेसले जनाएको छ । तत्काल लामो दूरीको यात्रा नगर्न, असहज परिस्थितिमा आशीर्वाद ग्रहणका लागि सामाजिक सञ्जालको उपयोग गर्न, अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन तथा सुरक्षित स्थानमै रहेर आपसी सहयोगमा जुट्न अपिल गरिएको छ ।

अपिलमार्फत प्रदेश सभापति बानियाँले स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश स्तरका संरचनामा रहेका पदाधिकारी तथा सदस्यलाई तत्कालीन उद्धार, राहत र स्थानान्तरण कार्यमा खटिन आह्वान गरेका छन् । त्यस क्रममा तीनै तहका सरकारी संयन्त्रसँग सहकार्य गर्दै बाढी, पहिरो र डुबानमा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिन उनले भनेका छन् ।

यस्तै, विज्ञप्तिमार्फत कांग्रेस बागमती प्रदेश कार्यसमितिले विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन कुनै कमी नराख्न पनि सरकारलाई अनुरोध गरेको छ ।
 

सुझावित समाचार