जाजरकोटदेखि लामो दूरीका सवारीसाधनहरू पूर्ण रूपमा बन्द

शनिबार, १८ असोज, २०८२
डिजिटल संस्करण

लगातारको वर्षा र आगामी तीन दिनसम्म अझै वर्षा हुने पूर्वानुमानसँगै जाजरकोटदेखि सञ्चालन हुने लामो दूरीका सवारीसाधनहरू पूर्ण रूपमा बन्द गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज १८ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएपछि सवारीसाधन पूर्ण रूपमा बन्द हुने भएका हुन् । सोही सम्भावित जोखिमलाई ध्यानमा राख्दै जाजरकोट जिल्ला सुरक्षा समितिको बैठकले यात्रु तथा जनधनको सुरक्षा सुनिश्चित गर्नका लागि विशेष निर्णय गरेको हो।

निर्णयअनुसार शनिबारदेखि जाजरकोटबाट काठमाडौं जाने सबै लामो दूरीका सवारीसाधनहरू पूर्ण रूपमा रोकिएका छन्। यस्तै, जाजरकोट–नेपालगन्ज मार्गमा दिउँसो १ बजेसम्म र जाजरकोट–सुर्खेत मार्गमा दिउँसो ३ बजेसम्म मात्र सवारीसाधन सञ्चालन गर्न पाइने व्यवस्था गरिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।

यात्रुहरूकाे सुरक्षालाई प्राथमिकता दिँदै तोकिएको समय र निर्देशनअनुसार मात्रै यात्रा गर्न आग्रह गरिएको प्रजिअ पाैडेलले बताए ।  आउन सक्ने सम्भावित पहिरो, बाटो अवरुद्ध र जोखिमपूर्ण अवस्थाको कारण अनावश्यक यात्रा नगर्न जाजरकोटवासीलाई अनुरोध गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘वर्षाका कारण सडक अवस्था असुरक्षित छ। जनजीवन र सुरक्षालाई पहिलो प्राथमिकता दिँदै सवारी सञ्चालनमा नियन्त्रण गरिएको हो ।’ यस विषयमा थप निर्णय लिन दिउँसो ३ बजे विपत् व्यवस्थापन समिति जाजरकोटकाे आकस्मिक बैठक आह्वान गरिएको छ ।

सुझावित समाचार