बागलुङको गलकोटमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
शुक्रबार साँझ ५ बजे ताराखोलाबाट हटियातर्फ आउँदै गरेको ग १ ज ६१०० नं. को पिकअफ जिप गाईघाटनजिकै अचानक चालकले नियन्त्रण गुमाई सडकबाट २० मिटर तल खस्दा घाइते भएका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
दुर्घटनामा घाइते बागलुङ गलकोट न.पा. ३ बस्ने वर्ष २४ को दिनेश थापाको टाउको र शरीरका विभिन्न भागमा चोट लागी गम्भीर रहेकोमा गलकोट अस्पतालमा पुर्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा वर्ष ४३ को वीरबल परियारलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा २४ वर्षका मिलन परियार पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ। उक्त जिपमा ८ जना सवार रहेको बताइएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।