बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो। समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारीसाधन नचलाउन भनेको हो।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढीपहिराको उच्च जोखम पूर्वानुमान गरेपछि सवारीसाधन आवजावतमा रोक लगाइएको हो।राजमार्गअन्तर्गत धुलिखेलको काभ्रेभञ्ज्याङदेखि भकुन्डे–सिन्धुली सीमा नेपालथोकको सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।
राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो।
समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपतजन्य घटना हुन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सवारी सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिलसमेत गरेको छ।