दसैँको टीकालगत्तै शुक्रबारबाट चार दिन पूर्वी र मध्यनेपालकेन्द्रित ठुलो वर्षा हुने भएकाले बाढीपहिरोको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार १७ असोजदेखि २० असोजसम्म खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ। जसकारण मध्यमदेखि भारी वर्षाको चेतावनी दिइएको छ। केही क्षेत्रमा अति भारी वर्षा पनि हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी, मधेश र बागमतीका जिल्लामा बाढीपहिरोको जोखिम छ। नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तहआसपास पुग्न सक्ने देखिएको छ। बागमतीका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन जिल्ला, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम र झापा, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला भई बहने नदीमा बाढीको चेतावनी दिइएको छ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि विज्ञप्ति जारी गरी १७–२०असोजमा अत्यन्त जरुरी नभई सकेसम्म घरदेखि टाढा र रातिको समयमा यात्रा नगर्न सुझाव दिएको छ। त्यस्तै, जोखिम आकलन गरेर स्थानीय प्रशासनको नेतृत्वमा हुने सम्बन्धित जिल्ला विपत् व्यवस्थापन समितिले यातायात सञ्चालनमा रोक लगाउन सक्नेछन्।
प्राधिकरणले वर्षा र बाटोको अवस्था हेरी सवारी सञ्चालनमा रोक लगाउनेबारे आवश्यक निर्णय लिन भनेको छ भने निर्णय पालना गराउन पनि निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न सडक विभागलाई भनिएको छ।
बंगालको खाडीमा विकसित भएको न्यूनचापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू–भागमा प्रवेश गरी मध्यभारततर्फ क्रमशः सर्ने क्रममा छ। उक्त न्यूनचापीय प्रणालीको कारणले नेपलमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी वर्षा हुने देखिएको हो।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बुलेटिन जारी गर्दा १७ असोजदेखि १९ असोजसम्म मनसुन सक्रिय हुने आकलन गरेको थियो। पछिल्लोपटकको मौसमी प्रणाली हेर्दा यसको असर २० असोजसम्म पर्ने देखिन्छ।