दसैँ पर्वको अवसरमा भक्तपुरका विभिन्न ठाउँमा परम्परागत बाँसको पिङ (लिंगेपिङ) बनाइएको छ। दसैँको विशेषता अथवा मनोरञ्जनको प्रमुख माध्यम पिङले सबै उमेर समूहलाई तान्ने गर्छ। अधिकांश नेपाली दसैँ लागेसँगै पिङ हाल्न र खेल्न हुन्छन् । पिङ दसैँको उल्लास र उमंगको मूर्त प्रतीक हो।
वर्षमा एकपटक भए पनि धर्ती छोड्नुपर्ने धार्मिक र सांस्कृतिक विश्वासका आधारमा मानिसहरू पिङ खेल्न लालायित हुने गर्छन्। यो विश्वासले मानिसलाई केही समयका लागि सांसारिक बन्धनबाट मुक्त भई नयाँ ऊर्जा प्राप्त भएको महसुस गराउँछ। पिङलाई नयाँ अन्न, नयाँ बालीको स्वागत र प्रकृतिको उत्सवको रूपमा पनि लिइन्छ ।
पुरानो पुस्ताका लागि पिङ बाल्यकालको मधुर सम्झना हो भने नयाँ पुस्ताका लागि यो परम्परा बुझ्ने माध्यम हो। दसैँमा, विशेष गरी टीकाको दिन, आफ्ना मान्यजनबाट आशीर्वाद लिएपछि पिङ खेल्ने चलन छ। यसरी पिङले संस्कृति धान्ने, खुसी साटासाट गर्ने र सामाजिक सम्बन्ध बलियो बनाउने महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। आकाश छुन खोज्ने पिङको चालले नेपाली संस्कृतिलाई जीवन्त राखेको छ।







