कतारमा रहेका नेपाली श्रमिकहरूले मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव र नयाँ पत्रिकाकर्मीलाई सम्मान गरेको छ । कतारमा स्थापना गरेको नेपालीहरूको विभिन्न संघसंस्थाले नयाँ प्रदेश सचिव मो. लालबाबु कवारी र नयाँ पत्रिकाका संवाददाता सुरेन्द्रकुमार कामतीलाई सम्मान गरेका हुन् ।
कतारको राजधानी दोहामा मधेश प्रदेश समन्वय परिषदलगायतका विभिन्न संघसंस्थाले दुवैजनालाई सम्मान गरेका हुन् । सिराहा, महोत्तरीलगायत विभिन्न जिल्लाको सिडियोको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै सम्मान गरिएको परिषद्का अध्यक्ष नियाज शेखले बताएका छन् । यस्तै, पत्रकार कामतीले सुशासन र सामाजिक विषयवस्तुको उठान गर्दै बेतिथिविरुद्ध खोज पत्रकारिता गर्दै आएकोले सम्मान गरिएको अध्यक्ष शेखले बताए । कतारमा रहेका नेपाली श्रमिकहरू विभिन्न कारणले ठगिने गरेको, अदक्ष कामदार आउँदा समस्यामा पर्ने गरेकाले नेपाल सरकारले आवश्यक पहल लिने विषय उठान गर्न सहभागीहरूले ध्यानाकर्षण गराएका छन् ।
सम्मान कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कृष्ण पन्थी, व्यवसायी सागर नेपाल, क्युएस्टीका प्रबन्ध निर्देशक यास्मिन नाज, एनआरएनए एनसिसी तृतीय उपाध्यक्ष जाहगिर आलम, सिराहा समाज कतारका अध्यक्ष जयप्रकाश यादव, महोत्तरी समाज कतारका अध्यक्ष रामहृदय साह, अजाद मन्सुरी, प्रदीप ठाकुर, राज देवकोटा, पत्रकारहरू राम एकवाल राम, आशिक हुसेन शेखलगायत सहभागी थिए ।