सर्लाहीको हरिपूर्वामा माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु

बुधबार, १५ असोज, २०८२
डिजिटल संस्करण

सर्लाहीको हरिपूर्वा नगरपालिकामा माटोको ढिस्कोले पुरिएर चारजनाको मृत्यु भएको छ ।  बुधबार बिहान ९ः३० बजेको समयमा जिल्लाको हरिपूर्वा नगरपालिका–१ स्थित हर्दीखोला किनारमा माटो खन्ने क्रममा ढिस्को खसेको हो ।

माटोको ढिस्कोले पुरिएर छिमेकी जिल्ला महोत्तरीको सोनमा गाउँपालिका– ६, मगरथाना बस्ने चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको  छ । 

घटनामा महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ६ बस्ने एकै गाउँका ६५ वर्षकी सायदा खातुन, ६ वर्षकी सबिबा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नाै वर्षकी नर्गिस खातुनको ज्यान गएको हो । ढिस्काले पुरिएका उनीहरूलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थिए । अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक वलिष्ठर सिंहले जानकारी दिए । 

नजिकिँदै गरेको चाडबाडका लागि घर लिप्ने माटो लिन पुगेका उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीले जनाएको छ । सर्लाही र महोत्तरीको सिमानामा अवस्थित हर्दीखोला किनारमा स्थानीय घर लिप्ने माटो खन्न जाने गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

सुझावित समाचार