देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु

मंगलबार, १४ असोज, २०८२
डिजिटल संस्करण

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१, नडाहा चतरा जंगलस्थित सडकमा झण्डा चोकबाट नडाहातर्फ जाँदै गरेको प्रदेश १–०२–०४६ प ४३३४ नम्बरको स्कुटर सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३५ वर्षीय कमल पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, लमजुङको राइनास नगरपालिका–३, नौबिसेस्थित सडकमा ग.२४ प १६३० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई दुर्घटना हुँदा २३ वर्षीय समीर ठकुरी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सहोदर अस्पताल लमजुङमा उनको मृत्यु भएको हो ।


ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–४, केत्तुकेस्थित सडकमा सोमबार दिउँसो बा.५ ख ८२२९ नम्बरको बस र प्र.१–०७–००१ प ०६७४ नम्बरको मोटरसाइकल ठोक्किँदा २१ वर्षीय विनोद कटवालको मृत्यु भएको छ। गम्भीर घाइते भएका कटवालको सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न बसचालकलाई नियन्त्रणमा लिइएको छ ।

त्यसैगरी, बाराको जितपुरसिमरा उपमहानगरपालिका–३, मालपोत चोकस्थित सडकमा मंगलबार दिउँसो बा.प्र.०१–०२५ च ६०७४ नम्बरको कारले ठक्कर दिँदा ७१ वर्षीया प्यारी साह गम्भीर घाइते भएकी थिइन् । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । सो कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

सुझावित समाचार