मनसुनी र स्थानीय वायुको प्रभावले आज देशका सबै प्रदेशमा साधारणतया बदली रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रक्षेपण गरेको हो।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।
यसैगरी आज राति कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले यसअघि नै दसैँ मौसम बुलेटिन जारी गर्दै अष्टमी (आज) र नवमी (भोलि)भन्दा दशमीमा (पर्सि) धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान गरेको छ।