कसरी बचाउने सुक्दै गएको गंगा नदीलाई ?

मानवीय र वातावरणीय उच्च दबाबका कारण गंगा नदी रेकर्ड राख्न थालिएयताकै सबैभन्दा छिटो दरमा सुक्दै छ

सोमबार, १३ असोज, २०८२
डिजिटल संस्करण

दक्षिण एसियाका करोडौँ मानिसको जीवनरेखा मानिने गंगा नदी रेकर्ड राख्न थालिएयताकै सबैभन्दा छिटो दरमा सुक्दै छ । जलवायु परिवर्तन, बदलिँदो मनसुनको ढाँचा, उच्च दोहन र माथिल्लो भेगमा बाँधको संख्या वृद्धिले यस शक्तिशाली नदीलाई पतनतर्फ धकेलिरहेको छ । यसको असर दक्षिण एसियाको ठुलो भागमा खाद्यान्न, पानी र जीविकोपार्जनमा देखापर्न थालिसकेको छ । शताब्दियौँदेखि, गंगा र यसका सहायक नदीहरू विश्वको सबैभन्दा घना जनसंख्या भएका क्षेत्रहरूको जिउने आधार रहँदै आएका छन् । हिमालयदेखि बंगालको खाडीसम्म फैलिएको यस नदीको सम्पूर्ण जलाधार (बेसिन)मा ६५ करोडभन्दा बढी मानिस आश्रित छन् । यस्तो महत्वपूर्ण नदी इतिहासमा नदेखिएको स्तरमा तीव्र गतिमा सुक्दै जानु सबैका लागि चिन्ताको विषय हो ।

उसो त वैज्ञानिकहरूले पछिल्ला दशकमा विश्वका धेरै ठुला नदीमा चिन्ताजनक परिवर्तन रेकर्ड गरेका छन् । तर, गंगाको परिवर्तनको गति र परिमाण अरूको भन्दा तीव्र छ । एक नयाँ अध्ययनमा, वैज्ञानिकहरूले पछिल्लो १३ सय वर्षको अवधिमा गंगा जलाधारले विगत केही दशकको अवधिमा सबैभन्दा खराब खडेरीको सामना गरेको पाएका छन् । र, ती खडेरी प्राकृतिक मौसममा हुने भिन्नताले मात्र व्याख्या गर्न नसकिने खालेका छन् । कुनै समय वर्षैभरि जल यातायात गर्न मिल्ने नदीका खण्डमा छिपछिपे पानी मात्र भेटिन्छ । एक पुस्ताअघि मात्र भरिभराउ रहने गंगाबाट निस्किएका नहरहरूसमेत सुक्दै छन् । नदीछेउका इनार पनि धमाधम सुक्न थालेका छन् ।

गंगा जुन तीव्रतासाथ सुकिरहेको छ, त्यसमा विश्वव्यापी जलवायु परिवर्तन मात्र जिम्मेवार छैन । खासमा गंगामाथि मानवीय र वातावरणीय दुवैको उच्च दबाब देखिन्छ । नदीको पानी ठुलो परिमाणमा सिँचाइ नहरमा मोडिएको छ । जमिनमुनिको पानी कृषि खेतहरूकै लागि व्यापक ‘पम्पिङ सेट’मार्फत तानिन्छ । गंगाकै पानी प्रयोग गर्ने गरी किनारमा ठुलो संख्यामा उद्योगधन्दा खुलेका छन् । एक हजारभन्दा बढी बाँध र ब्यारेजले नदीको प्रवाहमै आमूल परिवर्तन ल्याइदिएका छन् । संसार तात्दै जाँदा, गंगा नदीको पानी स्रोत रहेको मनसुन अनियमित हुँदै गएको छ । परिणामस्वरूप नदी प्रणालीले आफूलाई पुनः पूर्ति गर्न असमर्थ हुँदै गएको छ ।

गंगाको स्रोत हिमालयमा, गंगोत्री हिमनदी केवल दुई दशकमा लगभग एक किलोमिटरले घटिसकेको छ । बढ्दो तापक्रमले हिमनदी पहिलेभन्दा छिटो पग्लिरहेका छन् । यसले सुरुमा हिमतालबाट अचानक बाढी ल्याउँछ भने लामो समयमा नदीमा बग्ने पानी कम गराउँछ । र, सुक्खा बढाउँछ । अर्थात् जलवायु परिवर्तनका कारण हिमनदी छिटो पग्लेर खुम्चँदै जाँदा, गंगा र यसका सहायक नदीहरूमा पानीको प्रवाह घट्दै गइरहेको छ ।

एक त यस भेगको भूमिगत पानीको अधिकांश हिस्सा स्वास्थ्यमा असर गर्ने आर्सेनिक र फ्लोराइडले दूषित छ । त्यसमाथि भूमिगत पानीको अधिक दोहनले स्थितिलाई झनै खराब बनाइरहेको छ । भारतमा बनेको ‘फरक्का ब्यारेज’जस्ता परियोजनाले तल्लो भेगको बंगलादेशमा सुक्खा मौसममा नदीको प्रवाह घटाउने गरेको छ । यसले बंगलादेशको नदीछेउको जमिनको नुनिलोपन बढेको छ भने विश्वको सबैभन्दा ठुलो सिमसार वन सुन्दरवनलाई खतरामा पारेको छ । छोटो अवधिको आर्थिक लाभलाई प्राथमिकता दिने निर्णयले नदीको पारिस्थितिक स्वास्थ्यलाई कमजोर बनाएको छ ।

उत्तरी बंगलादेश र पश्चिम बंगालभरि, साना नदीहरू गर्मीमा पनि सुक्ने भएकाले समुदायले बाली वा पशुका लागि पानी पाउन छाडेका छन् । यी साना सहायक नदीको अवस्थाले ठुलो स्तरमा गंगाको भविष्यलाई संकेत गर्छ । कुनै परिवर्तनकारी कदम चालिएन भने गंगा बेसिनका लाखौँ मानिसले आगामी केही दशकमा गम्भीर खाद्यान्न अभावको सामना गर्न सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।

समन्वित कार्य चाल्न ढिलो भइसकेको छ । अब टुक्रे समाधान पर्याप्त हुनेछैन । नदीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे व्यापक पुनर्विचार गर्ने वेला यही हो । यसका लागि भूमिगत पानीको अति दोहन घटाउनुपर्ने हुन सक्छ, ताकि जमिनमुनि पानी आपूर्ति रिचार्ज गर्न सकियोस् । त्यस्तै, मानिस र पारिस्थितिक प्रणाली दुवैको हितका लागि नदीमा पर्याप्त पानी कायम राख्ने खालको वातावरणीय प्रवाह आवश्यक हुनेछ । र, मनसुनको बदलाब र मानवीय कार्यमा नदीको उच्च प्रयोग (उदाहरणका लागि सिँचाइ र बाँध) जोडेर सुधारिएको जलवायु मोडेल विकास गनुपर्ने हुन्छ, जसले जल नीतिलाई मार्गदर्शन गर्नेछ ।

गंगा बचाउन अन्तरदेशीय सहयोगसमेत आवश्यक देखिन्छ । भारत, बंगलादेश र नेपालले नदीसम्बन्धी तथ्यांक साझेदारी गर्ने, बाँध व्यवस्थापनमा सहयोग गर्ने र जलवायु परिवर्तनसँग जुध्ने योजना बनाउन सहकार्य गर्नुपर्छ । अन्तर्राष्ट्रिय लगानीकर्ता र राजनीतिक सम्झौताले गंगाजस्ता नदीलाई विश्वव्यापी प्राथमिकताका रूपमा व्यवहार गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण, नदीसम्बन्धी चालिने कदम समावेशी हुनुपर्छ । अर्थात्, स्थानीय आवाजले वैज्ञानिक र नीति–निर्मातासँगसँगै नदी पुनस्र्थापना प्रयासलाई आकार दिने अवस्था सुनिश्चित गर्नुपर्छ ।

गंगा एउटा नदी मात्र होइन, यो जीवनरेखा हो । पवित्रताको प्रतीक हो । र, दक्षिण एसियाली सभ्यताको आधारशिला पनि हो । तर, यो अहिले तीव्र रूपमा सुक्दै छ । र, कुनै कदम नचाल्ने हो भने परिणाम अकल्पनीय हुनेछ । चेतावनी मात्र दिएर बस्ने समय पनि अब बितिसक्यो । गंगा नदी हाम्रो लागि मात्र होइन, आउने पुस्ताका लागि पनि बगिरहोस् भन्ने सुनिश्चित गर्न हामीले तत्काल कदम चालिहाल्नुपर्छ ।

(सहाना म्यानचेस्टर विश्वविद्यालयको भूगोल विषयका ‘लेभरहुल्म अर्ली करिअर फेलो’ हुन्)
द कन्भरसेसनबाट

सुझावित समाचार