बडादसैँको धार्मिक तथा सांस्कृतिक महत्वबारे बताइदिनुहोस् न ।
बडादसैँ लामो इतिहास बोकेको मौलिक चाड हो । यसले सम्पूर्ण नेपालीलाई एकसूत्रमा बाँधेको छ । यो आध्यात्मिक र शारीरिक शक्तिको उपासनाको पर्व पनि हो । देवी दुर्गालाई हाम्रै हिमालमा विचरण गरेर हाम्रो रक्षा गर्ने देवीका रूपमा मान्ने गरिन्छ । बडादसैँलाई हाम्रो धार्मिक तथा सांस्कृतिक आस्थालाई जीवन्त राख्न सघाउने पर्वका रूपमा समेत लिने गरिन्छ ।
यस पर्वको सामाजिक महत्वचाहिँ कस्तो छ ?
दसैँले हाम्रो देशका सबै वर्ग र क्षेत्रलाई समेटेको छ । यो सामाजिक सद्भावको पर्व पनि हो । देशभित्र मात्र नभई विदेशमा बसोवास गर्ने नेपालीले समेत दसैँ हर्षोल्लासपूर्वक मनाउने गर्छन् । जागिर, व्यवसाय या शिक्षाका लागि घरबाट टाढा पुगेकाहरू दसैँमा घर फर्किने र घरपरिवार, आफन्त साथीभाइहरूसित भेटघाट गर्ने हुनाले यस पर्वले सामाजिक सम्बन्धमा ताजापन थप्नुका साथै सम्बन्ध नवीकरण गर्न पनि सघाउँदै आएको छ । ठुलाबडाबाट आशीर्वाद थाप्ने र सानालाई सत्मार्ग देखाउने पर्व पनि हो दसैँ । दसैँमा व्यापार–व्यवसाय पनि राम्रै हुने भएकाले दसैँ जनजीविकासँग पनि जोडिएको पर्व हो ।
दसैँको बलिप्रथाबारे पनि प्रश्न उठ्ने गरेको सुनिन्छ नि ?
बलिप्रथाबारे वेलावेलामा प्रश्न उठिरहेकै सुनिन्छ । बलि हिन्दु समुदायमा मात्र नभई अन्य समुदायमा पनि फरक–फरक नाममा हुँदै आएको छ । सात्विक भोजन गर्नु राम्रो हो । तर, जसले तामसी भोजन मन पराउँछन्, मासु सेवन गर्छन्, तिनले बलि दिनु अनाँैठो होइन । बलि वैदिककालदेखि नै अस्तित्वमा रहेको देखिन्छ । पशुबलिविना यज्ञ सम्पन्न नै हुँदैन । सक्नेले पशुबलि दिए पनि नसक्नेले घिरौँला, कुभिन्डो, मुला आदिको बलि दिने चलन पनि छ । विधि, नियम र प्रक्रिया नपु¥याई जहाँ पनि र जहिले पनि बलि दिन मिल्दैन । सुरक्षा क्षेत्रमा त बलि नदिइहुँदैन ।