एमाले केन्द्रीय कमिटी बैठक २७–२९ असोजमा हुने

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

एमालेले २७–२९ असोजमा काठमाडौंमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास गुन्डुमा बसेकाे केन्द्रीय सचिवालयको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्ने गरी २७–२९ असोजका लागि केन्द्रीय कमिटीको दशौँ बैठक काठमाडाैंमा बस्ने गरी बोलाएको हो । 

यस्तै, जेन–जी आन्दोलनका क्रममा भएको हिंसात्मक घटना छानबिनका लागि गठित आयोगले पार्टी अध्यक्ष केपी ओलीलगायतको राहदानी रोक्काका लागि गरेको सिफारिसप्रति पनि सचिवालय बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत प्रश्न खडा गर्ने जनाएको छ । 

यी हुन् सचिवालय बैठकका निर्णय  
१. भदाै २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले आज असोज १२ गते पार्टी अध्यक्ष केपी ओलीलगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर अनि दसैँको मौका पारेर गरिएको राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ ।

२. हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंसकारी घटनामा संलग्न दोषीहरूलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारबाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानुनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसायसमेत बोकेको छ । पार्टी यसप्रति गम्भीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गम्भीर ध्यानाकर्षण गर्दछ ।

३. पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ मा काठमाडौंमा बस्नेछ । त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौंमा बस्नेछ ।

सुझावित समाचार