भीमफेदी कारागारका कैदीबन्दीलाई दसैँ मनाउन मनहरी गाउँपालिकाले दियो खसी र खाद्यान्न

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई मनहरी गाउँपालिकाले दसैँ मनाउन खसी र खाद्यान्न सहयोग गरेको छ । आइतबार गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, उपाध्यक्ष सीता पुलामीलगायत जनप्रतिनिधिहरूको उपस्थितिमा कारागार प्रशासनलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाले कारागारलाई दुईवटा खसी, सात बोरा चामल, ६ बोरा चिउरा, अढाई कार्टुन तेल र एउटा प्रिन्टर उपलब्ध गराएको छ । गाउँपालिकाले हरेक वर्ष दसैँको अवसरमा खसी, खाद्यान्न तथा अन्य आवश्यक सामग्री सहयोग गर्दै आएको छ ।

गाउँपालिका अध्यक्ष कालाखेतीले कैदीबन्दीले चाडपर्व हर्षका साथ मनाउन सकून् भन्ने उद्देश्यले सहयोग गर्दै आएको बताए । सो अवसरमा जनप्रतिनिधिहरूले गाउँपालिका स्थायी बासिन्दा रहेका कैदीबन्दीसँग भेटघाट गरी शुभकामना आदान–प्रदानसमेत गरेका थिए ।

हाल भीमफेदी कारागारमा मनहरी गाउँपालिकाका करिब ६० जना कैदीबन्दी रहेका छन् । खाद्यान्न वितरण कार्यक्रममा अध्यक्ष कालाखेती र उपाध्यक्ष पुलामीसँगै वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनाल, वडा नम्बर २ का अध्यक्ष राजकुमार पाख्रिन, वडा नम्बर ३ का अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा नम्बर ६ का अध्यक्ष यादव थपलिया, वडा नम्बर ७ का अध्यक्ष ठाकुर तितुङलगायतको उपस्थिति थियो ।

सुझावित समाचार