सिराहा नगरपालिकामा अस्थायी, करार र ज्यालादारी कर्मचारीको नियुक्ति रद्द

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

सिराहाको जिल्ला सदरमुकामसमेत रहेको सिराहा नगरपालिकाले अस्थायी, करार सेवा तथा  ज्यालादारीमा कार्यरत कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेद्वारा आइतबार ‘अस्थायी र करार सम्झौता रद्द’सम्बन्धी सूचनामा पालिकाको विभिन्न शाखामातहत कार्यरत अस्थायी, करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको उल्लेख छ । सूचनामा त्यस्ता कर्मचारीहरूको १३ असोज (सोमबार) देखि लागू हुने गरी नियुक्ति र करार सम्झौता रद्द गरिएको जनाइएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८ असोज २०८२, च.नं. ११३ र अर्थ मन्त्रालयको ७ असोज २०८२, च.नं. ११८ को परिपत्र तथा नेपाल सरकार (मन्त्रिपरिषद्) को ५ असोजको बैठकको ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दीबाहेकमा अस्थायी तथा करारमा कर्मचारी राख्न नपाउने’ निर्णयबमोजिम नगरपालिकाको स्वीकृत दरबन्दीबाहेकको नियुक्ति र करार रद्द गरिएको सूचनामा उल्लेख छ । पालिकामा अस्थायी, करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरू कति छन् भन्नेचाहिँ सूचनामा खुलाइएको छैन । 

संघीय सरकारको निर्णयबमोजिम जिल्लाको १७ मध्ये सिराहा नगरपालिकाले नगरमा अस्थायी, करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारी तथा अन्य कर्मचारीहरूको नियुक्ति र करार सम्झौता रद्द गरेको भए पनि बाँकी अन्य स्थानीय तहहरूले सो निर्णयबमोजिम त्यस्ता कर्मचारीहरूको हकमा के गरेका छन् भन्ने विषयमा सूचना सार्वजनिक गरेका छैनन् ।

सिराहा जिल्लाका नौ नगरपालिका र आठ गाउँपालिकामा ०७४ र ०७९ सालको स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशले कर्मचारी नपठाएको बहानामा पालिकाको कामका लागि भन्दै कार्यविधि बनाएर आ–आफ्ना दल वा निकटका व्यक्तिहरू भर्ना गरेर राज्यको स्राेत दोहन गरेको आरोप लाग्दै आएको छ ।
जिल्लाका केही पालिकामा त ज्यालादारी कर्मचारीको रूपमा नियुक्ति लिएर तलब सुविधा लिने, तर पालिकाको काम नगरी पार्टी, जनवर्गीय संगठनको काममा मात्र सक्रिय रहने गरेको पाइएको स्थानीय नागरिकको गुनासो रहेको छ ।  
 

सुझावित समाचार