ग्राहक कुर्दै धनगढीका व्यवसायी, सीमावर्ती भारतीय बजारमा घुइँचो

दसैँका लागि किनमेल गर्न दैनिक दुई हजार नेपाली जान्छन् भारतीय बजार

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण
ग्राहक कुर्दै धनगढीका व्यवसायी, सीमावर्ती भारतीय बजारमा घुइँचो

किनमेलका लागि सीमावर्ती भारतीय बजार जानेहरूको कञ्चनपुरको त्रिनगर नाकामा देखिएको भीड

दसैँको समयमा प्रदेशको अस्थायी राजधानीसमेत रहेको प्रमुख व्यापारिक केन्द्र धनगढीमा उतिसाह्रो चहलपहल छैन, तर सीमावर्ती भारतीय बजार वनगावामा भने भिड नै लागेको छ । दैनिक सयौँ नेपाली उपभोक्ता दसैँका लागि खाद्यान्नलगायत उपभोग्य वस्तु किनमेल गर्न धनगढीबाट नजिक पर्ने वनगावा बजार पुग्ने गरेका छन् । कतिपय नेपाली धनगढीबाट करिब ४० किलोमिटरको दूरीमा रहेको भारतीय बजार पलियासमेत पुगेका छन् ।

त्रिनगर नाकामा खटिएका सुरक्षाकर्मीका अनुसार दसैँका वेला अहिले सीमावर्ती बजारमा किनमेल गर्न जानेको संख्या दैनिक करिब दुई हजार छ । सामान सस्तो पाइने बुझाइका कारण नेपालका ग्राहक सीमावर्ती बजारमा जाने गरेको धनगढीका व्यवसायी देवराज पाण्डेयले बताए । ‘दसैँका वेला पनि यहाँ खासै व्यापार छैन । ग्राहक सस्तो पाइने बुझाइले भारतीय बजार गइरहेका छन्,’ उनले भने, ‘कुनै सामान उता दुई–चार रुपैयाँ सस्तो पनि होला । तर, आउने–जाने भाडा जोड्ने हो भने सामानको मूल्य त्यहाँ र यहाँ एउटै पर्न आउँछ ।’

सीमावर्ती बजारमा लेबल टाँस नगरिएका र गुणस्तर जाँच नगरिएका सामान बिक्री हुने भएकाले उपभोक्ता ठगिने किराना व्यवसायी संघ धनगढीका अध्यक्षसमेत रहेको उनको भनाइ छ । ‘त्यस्ता सामान गुणस्तरीय हुँदैनन््,’ उनले भने, ‘ग्राहकमा गुणस्तर हेर्ने बुझाइ भएन । पारिभन्दा यतै गुणस्तरीय सामान पाइन्छन् ।’ उपभोग्य अवधि सकिएका कतिपय सामान सीमावर्ती बजारमा ल्याएर बिक्री गर्ने गरिएको र त्यहाँका व्यवसायीले एउटा सामान सस्तो दिएर अर्को सामानमा बढी पैसा असुल्ने गरेको विषय वेला–वेला उठ्ने गरेको छ ।

 वनगावा जानेको बिहानैदेखि सीमानाकामा लाइन हुन्छ । जेन–जी आन्दोलनका क्रममा नेपालका विभिन्न कारागारबाट धेरै कैदीबन्दी फरार भएपछि भारतीय सीमा सुरक्षा बल एसएसबीले चेकजाँचमा कडाइ गर्दै नागरिकता वा परिचयपत्र बोकेकालाई मात्र भारत जान दिने गरेको छ । तर, नाकामा लामो समय लाइनमै बसेर भए पनि नेपाली उपभोक्ता भारतीय बजार पुगिरहेका छन् ।

धनगढीका अर्का व्यवसायी लक्ष्मणराज पन्त पारि सस्तो सामान पाइन्छ भन्ने ग्राहकको बुझाइ स्थानीय व्यवसायीले चिर्न नसक्दा पनि भारतीय बजारमा घुइँचो लाग्ने र धनगढी सुनसान हुने अवस्था रहेको बताउँछन् । ‘लेबल नटाँसिएका र गुणस्तर जाँच नगरिएका सामान किन्दा ठगिन्छ भन्ने बुझाइ भएन । भन्सारले सहज आयात गर्न दिनुले पनि यता सुनसान हुने र सीमावर्ती भारतीय बजारमा भिड लाग्ने स्थिति बनेको हो,’ उनले भने ।

भन्सार कार्यालयले घरायसी प्रयोजनका सामान ल्याउन छुट दिने गरेको छ । एक सय रुपैयाँभन्दा माथिको सामान ल्याउँदा कर तिर्नुपर्ने ऐनमा व्यवस्था भए पनि लागू भएको छैन । दैनिक सयाैँ नागरिक भारतीय बजारमा गएर किनेमल गर्दा सरकारले राजस्वसमेत गुमाइरहेको छ । सोही कारण स्थानीय व्यवसायीले सय रुपैयाँ नभए पनि कम्तीमा पाँच सयभन्दा बढीको सामान ल्याउनेले कर तिर्नुपर्ने व्यवस्था गर्न भन्सार र प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले पारिबाट घरायसी प्रयोजनका लागि सर्वसाधारणले ल्याउने सामानमा न्यूनतम भए पनि भन्सार महसुल असुल गर्न सरोकारवाला निकायलाई बारम्बार आग्रह गर्दै आएको बताए । उनले नेपाली उपभोक्ता भारतीय बजारमा जाँदा यहाँको व्यापार चौपट बनेको, ठुलो पैसा विदेश गएको र राज्यले ठुलो राजस्व गुमाइरहेको बताए । ‘पारिबाट सामान ल्याउँदा तौलमा ठगिएको हुन्छ, उपभोग्य अवधि सकिएका सामान आउछन्,’ विष्टले भने, ‘तर, ग्राहकले सस्तो मात्र हेर्छन्, सामानको गुणस्तर, तौल, आवतजावतमा लाग्ने खर्च, समय हेर्दैनन् ।’

सुझावित समाचार