विश्व पर्यटन दिवसमा अन्तर्राष्ट्रिय समुदायलाई सन्देश : नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य भएको सन्देश अन्तर्राष्ट्रिय समुदायलाई प्रवाह गरिएको छ । ४६औँ विश्व पर्यटन दिवसको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना र नेपाल पर्यटन बोर्डको समन्वयमा शनिबार यस्तो सन्देश प्रवाह गरिएको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरूले नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको समेत बताएका छन् । यसका साथै पर्यटनलाई दिगो विकासको आधारस्तम्भ बनाउनुपर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । ‘पर्यटन र दिगो रूपान्तरण’ भन्ने नारासहित मनाइएको पर्यटन दिवसमा प्रधानमन्त्री सुशीला कार्कीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो । जसमा नेपाल अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख छ ।

‘पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ । विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आय वृद्धिका लागि ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवद्र्धन र संवद्र्धन अपरिहार्य छ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

साथै, प्रधानमन्त्री कार्कीले सुशासनको आकांक्षासहित भएको जेन–जी आन्दोलनका कारण पर्यटन क्षेत्रमा समस्या देखिए पनि तत्काल रिकभरी सुरु भइसकेको बताएकी छिन् । ‘सरकार पर्यटन पूर्वाधारको विस्तार, सेवास्तरको प्रवद्र्धनमार्फत यस क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन प्रतिबद्ध छ । यसका साथै अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सुरक्षित भएको सन्देश दिन चाहन्छु,’ प्रधानमन्त्री कार्कीको सन्देश छ ।

कार्यक्रमको अध्यक्षता गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले निजी क्षेत्रको सहकार्यविना पर्यटन विकास सम्भव नभएको र मन्त्रालयले नीति र कानुनी अड्चन फुकाउन सधैँ खुला रहेको बताए । उनले भने, ‘भदौ २४ र २५ गते भएको जेन–जी आन्दोलनका कारण पर्यटन क्षेत्रमा क्षति भए पनि निजी क्षेत्रले उच्च मनोबलका साथ पर्यटन उद्योगलाई उठाउन लागेको देख्दा खुसी लागेको छ । निजी क्षेत्रका समस्या समाधानका लागि सहजीकरण गर्न मन्त्रालय सधैँ तयार छ ।’

त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटक आगमन जेन–जी आन्दोलनपछि फेरि रिकभर हुने चरणमा प्रवेश गरेको बताए । आन्दोलनअघि दैनिक औसत ३३ सय पर्यटक आगमन हुने गरेकामा आन्दोलनको साता १६ सयमा झरेको थियो भने दोस्रो साता २२ सय पुगेको र यसै साता २९ सय हाराहारीमा पर्यटक आगमन पुगेको उनले जानकारी दिए ।

सुझावित समाचार