जेन–जी आन्दोलनले सत्ताच्युत गरेपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका ओलीको उस्तै दम्भ

वर्तमान सरकार ‘हा–हु’ले बनेको भन्दै युवा आन्दोलनको अवमूल्यन, देश आफूहरूले नै बनाउने दाबी

आइतबार, १२ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनले सत्ताच्युत भएका निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आमयुवाले दिएको ठुलो राजनीतिक झड्कापछि पनि उस्तै दम्भ देखाएका छन् । जेन–जी आन्दोलनकै क्रममा २४ भदौमा राजीनामा दिएर सेनाको सुरक्षामा बसेका ओलीले सैनिक ब्यारेकबाट निस्किएको १० दिनपछि शनिबार दिएको सार्वजनिक अभिव्यक्तिमा पनि पुरानै दम्भ दोहो¥याएका हुन् ।

युवा संघले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैँको अवसरमा खुला भेटघाट’ कार्यक्रममा ओलीले वर्तमान सरकारले राजनीतिक कनेक्सनका कारण रोकिएका भ्रष्टाचारका सबै फाइल अगाडि बढाउने घोषणा गरेकोप्रति असन्तुष्टि जनाए । नेताका पासपोर्ट रोक्ने सरकारको तयारीको पनि विरोध गर्दै छिट्टै देश आफूहरूले नै चलाउने भन्दै चेतावनीसमेत दिए ।

‘भ्रष्टाचार ग¥यो भनेर हल्ला चलाएर हुँदैन, कहाँ भ्रष्टाचार ग¥यो, केमा कमिसन खायो, केमा घुस खायो ? त्यस प्रकारका अफवाह चलाएर हुँदैन । सरकारले विभिन्न प्रकारका हल्ला चलाइरहेको मैले सुनिरहेको छु । पासपोर्ट रोक्ने ? के ठानेको छ ?’ ओलीले भने, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु । के ठानेको छ । यो हा–हुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ ? के सोचेको ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि पनि यो देशलाई हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ, सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था कायम गर्छौँ ।’

उनले भ्रष्टाचार छानबिन गर्न र आफू प्रधानमन्त्रीमा रहँदा दिइएका सबैखालका निर्देशन र रेकर्डेड अभिव्यक्तिहरू जनताका बिचमा सार्वजनिक गर्न चुनौती दिँदै सरकारले अफवाह फैलाएको दाबी गरे । ‘यो सरकारले मेरा अभिव्यक्तिहरू, मैले बोलेका कुराहरू प्रकाशन गरेर जनताका बिचमा ल्याओस्, अरूको पनि ल्याओस्, उहाँहरूको पनि ल्याओस्, मैले भनेका सम्पूर्ण कुराहरू हिम्मतका साथ जनताका बिचमा पु¥याओस्, प्रकाशित गरोस् । कर्मचारीहरूलाई दिएका निर्देशनहरू रेकर्डेड छ, प्रहरीलाई दिएका निर्देशनहरू रेकर्डेड छन्, बाहिर ल्याओस् । हामी कुनै षड्यन्त्र, छलछाम गर्दैनौँ, पारदर्शी ढंगले अघि बढ्छौँ, अफवाह नफैलाइयोस्,’ उनले भने ।

आफ्नै नेतृत्वमा भएको बर्बर दमन अस्वीकार
ओली सरकारले २३ भदौमा बानेश्वरमा भएको जेन–जी आन्दोलनमा निहत्था युवा तथा विद्यार्थीको टाउको र छाती ताकीताकी गोली हानेर १९ जनाको हत्या गरेको थियो । सरकारको बर्बर दमनका कारण भोलिपल्ट २४ भदौमा आन्दोलन थप चर्किँदा अहिलेसम्म मृतकको संख्या ७४ पुगिसकेको छ । तर, ओलीले आफ्नै नेतृत्वको सरकारले गरेको बर्बर दमनको अस्वीकार गरेका छन् । गोली चलाउन आदेश नदिएको उनको दाबी छ ।

‘२३ र २४ गतेको घटनाहरूका सन्दर्भमा आयोगको प्रतिवेदन पर्खिन जरुरी छ । नीतिगत तह र व्यावहारिक तहमा आदेश दिने, कार्यान्वयन गर्ने, कार्यान्वयन भएका हुन् कि अर्कै भएको हो ? विभिन्न भिडियो आएका छन्, कति सत्य, कति परिचालित हुन् ? एआई निर्मित हुन् कि सत्य भिडियो आएका हुन् आयोगले छुट्याउँछ । तर, प्रधानमन्त्रीले न गोली चलाउने आदेश दिन्छ न कुनै कुरा थाहा पाउँछ,’ उनले आफ्नो बचाउ गरे ।

ओलीले गोली कसरी चल्यो भन्नेबारे नै आफू अनभिज्ञ रहेको दाबी गरे । सुरक्षा निकायतर्फ दोष देखाएर उनले आफूलाई चोखो देखाउने प्रयास गरेका छन् ।

‘बालुवाटारमा सोधेर बसिरहेको थिएँ, क्याजल्टी नहोस्, क्षति नहोस्, त्यही कामना गरेर बसिरहेको थिएँ, गोली चल्यो भनेको सुनेपछि, गोल कसरी चल्यो, गोली चलाउने तहमा कसरी पुग्यो भनेर मैले सोधिरहेको छु । पछि मैले सुनेँ १४ जनाको निधन भइसक्यो । कसरी मारिए १४ जना युवाहरू ? मैले खोजेको छु, मैले सोधेँ, कसरी मरे युवाहरू, कहाँ गोली लाग्यो ? टाउकोमा, छातीमा । अनि सुरक्षा फोर्सले त घुँडामुनि हान्ने चलन हुन्छ, घुँडामुनि हानेको हुन्छ, कसरी टाउका–टाउकामा गोली लाग्यो ?’ ओलीले भक्तपुरको गुन्डु युवा संघले आयोजना गरेको कार्यक्रममा भने, ‘म सोध्दै छु– यस्तो किन भइराखेको छ ? कसरी रोक्न सकिन्छ यस कुरालाई ? म भन्दै छु, अनि म त्यसरी रक्तपात नहोस् देशमा भनेर भनेको भनेकै गर्ने, सोचेको सोचेकै गर्ने, अनि जसले त्यो उपद्रो मच्चाउँछ, उसले केपी ओली दोषी भनेको भनेकै गर्ने, बहुतै दुःखद घटना घट्यो, वास्तवमा म स्तब्ध भएको छु, अत्यन्तै दुःखित छु, यो कसरी भयो ?’ उनले भने ।

जेन–जी आन्दोलनमा भएको व्यापक दमनको नैतिक जिम्मेवारी लिएर ओली नेतृत्वबाट हट्नुपर्ने मत एमालेभित्रै बढ्दै गएको छ । केही पदाधिकारीले राजीनामा दिएर मार्गप्रशस्त गर्न उनलाई पार्टी बैठकमा आग्रह गर्ने तयारी गरेका छन् ।

आइतबार गुन्डुमै सचिवालय बैठक
सैनिक ब्यारेकबाट बाहिरिएको १० दिनसम्म पनि ओली पार्टी कार्यालय च्यासल पुगेका छैनन् । संविधान दिवसका दिन पार्टीले केन्द्रीय कार्यालयमै कार्यक्रम गर्दा पनि ओली गएनन् । गुन्डुमा अस्थायी निवासमा बसेका उनले आइतबार दिउँसो १ बजे केन्द्रीय सचिवालयको बैठक पनि त्यहीँ बोलाएका छन् । जेन–जी आन्दोलनपछि एमाले केन्द्रीय सचिवालयको यो नै पहिलो बैठक हुनेछ ।

बैठकमा जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल र समीक्षा गरेर आगामी दिशा तय गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय बैठकले गर्नेछ,’ उनले भने ।

सुझावित समाचार