दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला मुस्ताङमा पालिएका भेडा च्याङ्ग्रा बेसी अर्थात् बजार क्षेत्रमा झारिएको छ। मुस्ताङका किसान तथा अन्य जिल्लाबाट त्यहाँ पुगेर खरिद गरेर फकिएका व्यापारीहरू भेडा च्याङ्ग्राको बथान लिएर बागलुङ सदरमुकाम कुश्मा, पोखरालगायत सहरी क्षेत्रमा आइपुगेका छन्।
शहर र सडकका छेउछाउमा भेडा च्याङ्ग्राका बथान देखिएसँगै वडादसैँ पर्व आगमनको झल्को दिइरहेको छ। हरेक वर्ष लेकमा हुर्केका भेडा च्याङ्ग्रा दशैंका मौकामा विक्रिका लागि बजार क्षेत्रमा ल्याउने गरिन्छ।
किसानले गरे ३५ करोड बढीको आम्दानी
मुस्ताङको नाका प्रयोग गर्दै यसपटक १४ हजार बढि भेडाच्याङ्ग्रा बाहिरिएको भेटेरीनरी अस्पताल एवं पुश सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ। केन्द्रका प्रमुख डा. लालमणि अर्यालका अनुसार यस पटक भेडाच्याङ्ग्राबाट किसानले ३५ करोड बढीको आम्दानी गर्न सफल भएका छन्।
दशैंका लागि कुल ३५ करोडभन्दा बढि मूल्यका १४ हजार ६६८ भेडाच्याङ्ग्रा मुस्ताङबाट निकासी भएको उनले जानकारी दिए। ‘किसानले हामीसँग ठ्याक्कै मूल्य त भन्दैनन्, भाले च्याङ्ग्राका ३३ हजारदेखि ४० हजारसम्म पर्ने उनीहरु बताउँछन,’ अर्यालले भने, ‘पोथीको अलि कम छ, भेडाको मूल्य पनि अलि कम छ। त्यसैले हामीले २५ देखि ३० हजारको रुपमा सरदर हिसाब गर्दा किसानको हातमा ३५ करोड रुपैयाँ परेको आकलन गर्न सकिन्छ।’
मुस्ताङसहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी–जोमसोम कोरला सडकमार्गबाट पनि निकासी भएका छन्। उनका अनुसार तिब्बतबाट ५५० मात्रै भेडाच्याङ्ग्रा आएका छन्। ‘कोरला नाकाको भन्सार कार्यालयले दिएको विवरणअनुसार ५५० वटा भेडा च्याङ्ग्रा प्रवेश गरेका आधिकारिक तथ्याङ्क छ,’ उनले भने, ‘अन्य विषयमा त हामीलाई थाहा भएन। आधिकारिक रुपमा कागजपत्रसहित आएकाहरुको मात्रै हामीसँग रेकर्ड हुन्छ।’
मुस्ताङको हिस्सा अनुमानित २० करोड रुपैयाँ
यस वर्ष निकासी भएका भेडाच्याङ्ग्रामध्ये सात हजार ६६८ वटा स्थानीय र छ हजार ८६८ वटा भेडाच्याङ्रगा डोल्पा, मुगु र जुम्लाका रहेका उनले बताए। यसमा मुस्ताङको हिस्सा अनुमानित रु २० करोड रहेको छ। जिल्ला बाहिरका व्यापारीले किसानको खोरमै रोजेर लिने च्याङ्ग्राको मूल्य ४० हजार, भेडाको २८ हजार रुपैयाँ र रमा (च्लालुक) च्याङ्ग्राको मूल्य रु १२ हजार रहेको जनाइएको छ।
दसैँका लागि काठमाडौँ, पोखरा, चितवन र बुटवलका बजारबाट व्यवसायीहरु भेडा च्याङ्ग्रा खरिदका लागि जाने गर्छन्। उनीहरुले सिधै ट्रकमार्फत ढुवानी गर्ने गरेका छन्।
पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उपयोगी
चाडपर्वका अवसरमा जडीबुटीयुक्त बुकीमा चरेका हिमाली च्याङ्ग्राको मासु स्वादिलो हुने हुँदा माग धेरै हुने गरेको छ। पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि राम्रो मानिन्छ। उपल्लो मुस्ताङका किसानको मुख्य आयस्रोत भेडा च्याङ्ग्रा हो। च्याङ्ग्राको शरीरबाट निस्कने भुवा पस्मिनाको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ।
यहाँका किसानहरुले भेडा र च्याङ्ग्रापालनबाट जीविकोपार्जन गर्दै आएका छन्। हिउँचितुवा र ब्वाँसोको आक्रमणबाट बचाउनु किसानको प्रमुख चुनौती हो। मुस्ताङी भेडा च्याङ्ग्राको ठूलो बजार पोखरा हो। म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जालगायतका बजारमा पनि भेडा च्याङ्ग्राको खपत हुने गरेको व्यवसायी बताउँछन्।
एउटै च्याङ्ग्राको मूल्य ४० देखि ४८ हजारसम्म
यस वर्ष विगतमा भन्दा भेडा च्याङ्ग्राको व्यापार राम्रो भएको मुस्ताङ पुगेर खरिद गरी विक्रिका लागि बागलुङ बजार आएका व्यवसायी हरि अर्याल बताउँछन्। अर्यालले ७० वटा भेडा खरिद गरेर ल्याएको र १५ वटा बाँकी रहेको बताए। ‘हामी हरेक वर्ष मुस्ताङको भेडीगोठमा नै पुगेर भेडा च्याङ्ग्रा खरिद गर्ने गछौं। यस वर्ष छिटै नै विक्रि वितरण भए,’ उनले भने, ‘केही म्याग्दीमा नै खपत भयो बागलुङमा पनि राम्रै खपत भयो। अष्टमीको दिनसम्म सकिने आश छ।’ उनले विगतका वर्षमा खरिद गरेर ल्याएका च्याङ्ग्रा विक्रिका लागि धेरै समय लागे पनि यस वर्ष छिटै सकिएको बताए।
बागलुङ सदरमुकाम क्षेत्रमा रोजा च्याङ्ग्राको मूल्य ४० देखी ४८ हजारसम्म छ भने चेलुक र भेडाको भने केही सस्तो छ। त्यसैगरी साना प्रजातीको च्याङ्ग्राको मूल्य १५ हजारदेखी ३३ हजारसम्म रहेको व्यवसायी बताउँछन्। अन्य समयमा गाउँघरमा नै पालेका खसीबोका खाने चलन भए पनि दसैँको समयमा लेकाली भेडा च्याङ्ग्रा नै खाने प्रचलन छ।