तंग्रिँदै बजार

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

दसैँमा सबैभन्दा बढी किनमेल संस्कृति भएकाले व्यापार पनि बढी हुने गरेको छ, आन्दोलनमा व्यापारिक प्रतिष्ठानहरू पनि तारो बनेका थिए, त्यसका बाबजुद घटस्थापनायता बजारमा चहलपहल भने बढेको छ । तर, विगतका दसैँजस्तो कारोबार भने नभएको व्यवसायी बताउँछन् ।

कोभिडयता अर्थतन्त्र सुस्ताएको छ । जसकारण उपभोक्ताको क्रयशक्तिमा समेत ह्रास आएको छ । यद्यपि, दसैँका वेला नेपाली उपभोक्ताले क्रय क्षमता बढाउने गरेका छन् । विगतको तुलनामा यसपालि उपभोक्ताको भिड बढ्ने आसमा रहेका व्यवसायीलाई २३ र २४ भदौको जेन–जी आन्दोलनले निराश तुल्याएको छ । ठुला व्यापारिक कम्प्लेक्स र व्यापारिक केन्द्र जेन–जी आन्दोलनको निसानामा परे, जसकारण आगजनी र तोडफोडबाट ठुलो क्षति भएको छ ।

उद्योग वाणिज्य महासंघले गरेको प्रारम्भिक अध्ययनअनुसार निजी क्षेत्रतर्फ ८० अर्बभन्दा बढी क्षति भएको छ । त्यस्तै, सरकारी कार्यालयतर्फ झन् ठुलो क्षति भएको छ । प्रमुख व्यापारिक कम्प्लेक्स भाटभटेनी सुपर स्टोरका विभिन्न स्थानमा रहेका कम्प्लेक्समा आगजानी भएको घटनाले समग्र निजी क्षेत्र स्तब्ध छ । त्यस्तै, भाटभटेनीको किनमेल संस्कृतिसँग हुर्किएका उपभोक्तालाई पनि बजारमा पुगेर किनमेल गर्न दुःख भएको छ ।

दसैँको मुखमा भएको जेन–जी आन्दोलनका कारण केही दिन उपत्यकाको प्रमुख व्यापारिक क्षेत्र न्युरोड, दरबारमार्ग, कुमारीपाटीलगायतका स्थानमा भएको कफ्र्युले व्यापार नै ठप्प भएको थियो । कफ्र्यु हटेपछि पनि तत्काल व्यापारमा उल्लास आएन । तर, घटनास्थापनादेखि भने बिस्तारै बजारमा चहलपहल बढेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष हेमराज खरालले जानकारी दिए । उनका अनुसार पछिल्लो दिन व्यापारिक केन्द्रमा भिड बाक्लिएको छ, तर विगतको तुलनामा न्यून हो । ‘गत वर्षको तुलनामा व्यापार ४० प्रतिशत खस्किएको छ, तीन वर्षअघिसँग तुलना गर्ने हो भने ६० प्रतिशतसम्म व्यापारमा ह्रास आएको छ,’ उनले भने ।

व्यवसायीले यसपटक दसैँका लागि भनेर नयाँ लत्ता–कपडासमेत ल्याएका छैनन् । साउनमा आएको रसुवा बाढीले केरुङ नाकासँग विच्छेद गरेका कारण ढुवानीमा अवरोध छ । तातोपानी नाका पनि साउनदेखि अवरुद्ध थियो, सोमबार साँझबाट मात्रै सञ्चालनमा आएको छ । सोमबारबाट सञ्चालनमा आउँदा दसैँका लागि सामान ल्याउन ढिला भइसकेको थियो । त्यसैले बजारमा नयाँ मोडेलका लत्ता, कपडा, जुत्ता, बच्चाका खेलौनालगायतका सामग्री उपलब्ध नभएको खरालले बताए ।

स्वदेशी उद्योगमा लत्ता, कपडा उत्पादनको अवस्था सुदृढ भइसकेको छ । त्यसैले अहिले बजारमा धेरै स्वदेशी उत्पादन नै उपलब्ध गराइएको छ।

‘सुरुमा त व्यापार नै कसरी गर्ने होला भन्ने चिन्ता भयो,’ उनले भने, ‘अहिले व्यापारिक चहलपहल त सुरु भएको छ, तर नयाँ मोडेलका सामग्री उपलब्ध गराउन सकेका छैनौँ ।’ उनका अनुसार स्वदेशी उद्योगमा लत्ता, कपडा उत्पादनको अवस्था सुदृढ भइसकेको छ । त्यसैले अहिले बजारमा धेरै स्वदेशी उत्पादन नै उपलब्ध गराइएको छ । उपभोक्ताले पनि बजारमा रहेकामध्येबाटै छनोट गरेर सन्तुष्ट भइरहेको खरालले बताए । लत्ता, कपडालगायतको मूल्य पनि खासै फरक नरहेको उनले बताए । ‘विगतको मूल्य नै यसपालि कायम गरेका छौँ, कुनै पनि सामग्रीमा मूल्य बढेको छैन,’ उनले भने । नयाँ मोडेलका सामग्री नआए पनि बजारमा उपभोक्ताले मागेजति सामान दिन सक्ने गरी मौज्दात रहेको उनले जानकारी दिए ।

दसैँमा सबैभन्दा बढी किनमेल गर्ने संस्कृति भएकाले व्यापार पनि सबैभन्दा बढी हुने गरेको छ । वर्षभरको व्यापारमा दसैँ–तिहारमा भएको कारोबारले मात्रै ३० प्रतिशतसम्म हिस्सा ओगट्ने गरेको व्यापारीहरू बताउँछन् । दसैँमा राम्रो व्यापार हुन सके लगत्तै आउने जाडो सिजनका लागि नयाँ लुगा खरिद गरेर पसलमा राख्न पनि नगदको जोहो हुने गर्छ । त्यस्तै, व्यापार राम्रो हँुदा व्यवसायीले दसैँ पनि राम्ररी मनाउने गरेका छन् ।

देशभरका व्यवसायीका संघीय प्रतिनिधिमूलक छाता संस्थाहरू उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सले जेन–जी आन्दोलनबाट भएको क्षतिलाई भुलेर अर्थतन्त्रको पुनरुत्थानमा जुट्ने संकल्प गरेका छन् । उनीहरूले सरकारसँग सहकार्य गरेर निजी क्षेत्रको भौतिक संरचना निर्माणलाई अघि बढाएर अर्थतन्त्रको विकासमा टेवा पु¥याउने पनि बताएका छन् । सरकारले पनि निजी क्षेत्रको मनोबल खस्कन नदिन विभिन्न सहुलियत उपलब्ध गराइसकेको छ ।

त्यसैले, आगामी दिनमा अर्थतन्त्रले गति लिएर ठुला–साना सबै बजार गुल्जार हुने अपेक्षा गर्न सकिन्छ । अर्थतन्त्र लयमा आएको खण्डमा सर्वसाधारणको आयस्तर पनि सुध्रने र किनमेल गर्ने क्षमता पनि बढ्ने गर्छ । जसकारण बजारहरूमा फेरि पहिलेकै जस्तो भिडभाड बढ्ने र उपभोक्ता तथा व्यवसायीले खुलेर कारोबार गर्ने समय आउने अपेक्षा गर्न सकिन्छ ।

सुझावित समाचार