दसैँ टीका : रंगको अर्थ

दसैँमा किन लगाइन्छ सेतो, कालो र रातो टीका ?

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

इतिहासकार दिनेशराज पन्त भन्छन्– रातो टीका कहिलेदेखि प्रयोगको रूपमा आयो भन्ने यकिन छैन । रातो टीका समृद्धि, विजय र आयु वृद्धिको प्रतीक हो । रातो सौभाग्यको प्रतीक पनि हो । त्यसैले पनि रातो टीकालाई प्रयोगमा ल्याइयो होला भन्न सकिन्छ ।
 

हिन्दु धर्मावलम्बीहरूको पर्व दसैँ मनाउने शैली समुदायअनुसार फरक–फरक छ । दसैँमा लगाइने टीकाको रङ पनि फरक–फरक छ । विविधतायुक्त समुदाय भएको नेपालमा समुदायअनुसार सेतो, कालो र रातो टीका लगाइन्छ । सुरुवाती दिनहरूमा अक्षताविनाको टीका, पिठोको टीका लगाउने चलन रहेको जानकार बताउँछन् । संस्कृतिविद् रमानन्द आचार्यका अनुसार जुम्लाको सिँजा राज्य क्षेत्रमा धान उत्पादन नहुने हुँदा चामलको सट्टा निधारमा पिठो लगाइन्थ्यो ।

‘दसैँँमा लगाउने टीकामा चामल प्रयोग हुँदैनथ्यो । त्यसवेला जुम्लाको सिँजा राज्यमा धानको उत्पादन हुँदैनथ्यो । धानको उत्पादन सिँजा राज्यको उत्तराद्र्धतिर भएको अनुमान छ । त्यसैले त्यतिवेला पिठोको टीका लगाइन्थ्यो,’ आचार्यले भने । उनका अनुसार सिँजा राज्यभन्दा अगाडि कर्णालीमा दसैँ मनाउने प्रचलन पनि थिएन । अहिले लामो बिदा, आफन्तहरूसँगको भेटघाट, टाढा गएका आफन्तहरू घर फर्किने र जमघटका कारणले दसैँँ प्रमुख पर्वको रूपमा स्थापित छ । तर, सिँजा राज्य स्थापना हुनुभन्दा अघि कर्णाली क्षेत्रमा मष्टो संस्कृति पुजिन्थ्यो । मष्टो मान्नेहरूका लागि सबैभन्दा ठुलो पर्व पुनि (पूर्णिमा) हो ।

किराँत समुदायमा सेतो टीका
दसैँ मनाउने विभिन्न समुदायमध्ये किराँती पनि हुन् । इतिहासकारहरूका अनुसार किराँत समुदायले दसैँ मनाउन थालेको दुई सय वर्ष पूरा भएको तथ्यांक भेटिन्छ । किराँतभित्रका राईहरूले विसं १८७७ देखि दसैँ मनाउन थालेको तथ्य भेटिएको छ । इतिहास अध्येता भोगिराज चाम्लिङका अनुसार १८७७ मा राजेन्द्रविक्रम शाहले पूर्वको किराँतीले दसैँ मनाउने विषयमा लालमोहर नै जारी गरेका थिए । ‘किराँतीहरूले २०५ वर्षअघिदेखि मात्रै दसैँ मनाउन थालेका रहेछन् । त्यतिवेला सरकारको स्थानीय प्रतिनिधि भनेको तालुकदार हुन्थे ।

ती तालुकदारहरूको माध्यमबाट किराँतीहरूलाई दसैँ मनाउन लगाइएको रहेछ । ती कुरा अभिलेखमै भेटिन्छ,’ अध्येता चाम्लिङले अर्को पनि उदाहरण दिँदै भने,‘शाहकालमा खोटाङको हलेसी गढीमा मौलो (काठको खम्बा) गाड्ने चलन थियो । त्यो मौलोमा फूलपातीको दिन राँगाको बली दिइन्थ्यो । त्यतिवेलाको प्रशासनले गढी क्षेत्रका सबैलाई बोलाएर राँगाको मासु प्रसादको रूपमा घरमा लगेर दसैँ मान्नु भनेर अराउँथ्यो । यसले किराँतीको मौलिक पर्व दसैँ होइनरहेछ, राज्यले शक्ति प्रयोग गरेर प्रशासनिक रूपमा दसैँ मनाउन सिकाएको रहेछ भन्ने कुरा प्रस्ट हुन्छ ।’

नवमीका दिन नेवाःहरू आँगन, घर वा जमरा राखिएको कुल देवता भएको घरमा जम्मा हुन्छन् । दुर्गाको आराधना गर्ने यो दिन नेवाःहरू तान्त्रिक विधिअनुसार साधना गर्छन् । सोही दिन जाँडरक्सी राखिएका भाँडाहरूको पनि पूजा गर्नुका साथै विधिपूर्वक ‘मोहनी सिन्हः’ थाप्ने भनेर ध्वाँसो जम्मा गर्छन् । सोही ध्वाँसोलाई कालो टीकाको रूपमा दशमीको दिन लगाउँछन् ।

किराँती राईको मौलिक पर्व दसैँ नभए पनि राज्यले मनाउनैपर्ने अवस्था सिर्जना गरेपछि मनाउन थालेका हुन् । किराँती राईहरूमा सेतो रङको प्रयोग जन्म–मृत्युसम्मको संस्कारमा प्रयोग हुन्छ । पितृ र प्रकृतिको पूजामा पहेँलो रङको समेत प्रयोग गर्छन् । सुरुवाती दिनमा पहेँलो रङको रूपमा बेसार खनेर कुटी त्यसको रङलाई चामलसँग मिसाएर लगाउने प्रचलन थियो ।

जीवित मान्छेको शुभकार्यमा चाहिँ सेतो रङ प्रयोग हुँदै आएको पाइन्छ । त्यसैले बाध्यात्मक रूपमा मनाउन थालिएको दसैँ जीवित मानिसहरूले मनाउने पर्व भएकाले सेतो रङको टीका लगाउन थालिएको हो । ‘दसैँ हाम्रो मौलिक पर्व होइन, किनभने दसैँमा मौलिक अनुष्ठान गरिँदैन । किराँतीको मौलिक अनुष्ठानको स्रोत मुन्धुम हुन्छ । तर, दसैँबारे मुन्धुममा उल्लेख छैन,’ अध्येता चाम्लिङले भने,‘शुभकार्यमा सेतो रङ प्रयोेग गरिने भएकाले दसैँ मनाउन अभ्यस्त हुँदै गएपछि सेतो रङको टीका लगाउन थालिएको हो कि भन्ने लाग्छ ।’ उनका अनुसार दसैँ मनाउन बाध्य भएर सिकेपछि शुभकार्यमा प्रयोग गरिने सेतो रङ नै प्रयोगमा आइरहेको भेटिन्छ ।

नेवाः समुदायमा कालो टीका
सामान्य रूपमा भन्दा मोहनी भन्नाले मोहनी लगाउनु, मन्त्रमुग्ध बनाउनु वा आफ्नो बनाउनु हो । नेवाः समुदायमा दसैँकै वेला मोहनी मनाइन्छ । दसैँ र मोहनी एकै भने होइन । संस्कृतिविद्हरू मोहनीलाई नेवाःहरूले आफूलाई सहयोग गर्ने सामग्रीको पूजा, सम्मान गर्ने गर्छन् । सोहीअनुसार मोहनीमा शरीरको पूजा गरेर जगाउने वा स्फूर्ति ल्याउने भएको बताउँछन् । संस्कृतिविद् डा. बज्रमुनि बज्राचार्यका अनुसार वातावरण नबिग्रियोस् भनेर इन्द्रजात्राको वेला नालामा रुख ढालेर ल्याउने क्षमा पूजा गर्ने चलन छ ।

पूजा गरेपछि कोत लिएर गई जुन रुखमा काटिन्छ, त्यसमा क्षमा पूजा गरिन्छ । यसको अर्थ हो, एउटा रुख काट्न पनि क्षमा पूजा गर्ने चलन छ । करुणामय देवताको मूर्ति बनाउन म्हेपीमा माटो लिन जानुपर्छ । घर बनाउने वेला नागको पूजा गरेर घर बनाइन्छ । ‘जुन–जुन तत्वले नेवाःको जीवनमा सहयोग गर्छ, त्यसलाई पूजा गर्ने नेवाःको विशेषता हो । कुनै पनि प्रकृतिका तत्वहरू बिगार्दा पनि क्षमा पूजा गरेर मात्र बिगार्ने चलन छ,’ उनले भने, ‘दसैँमा पनि हामीलाई जीवनमा साथ दिने विभिन्न औजार पूजा गर्छौँ ।

नवमीको दिन हामीले प्रयोग गर्ने सामग्री ठिक छ–छैन भने पूजा गर्ने चलन छ । त्यो पूजा गरेसँगै मान्छेको शरीर पनि पूजा गर्छौँ । मान्छेको शारीरिक र आत्मीय पाटो हुन्छ । आत्मीय पाटोलाई कुलदेवताको स्थानमा बसेर पूजा गरेर त्यहाँ स्थापना गर्छौँ । स्थापना गरेपछि देवताको शक्ति आफ्नो शरीरको आत्मामा प्रवेश गर्छ ।’ 

‘स्याक्वत्याक्व’ अर्थात् नवमीका दिन नेवाःहरू आँगन, घर वा जमरा राखिएको कुलदेवता भएको घरमा जम्मा हुन्छन् । हिन्दु समुदायले दुर्गाको आराधना गर्ने यो दिन नेवाःहरू तान्त्रिक विधिअनुसार साधना गर्छन् । सोही दिन जाँडरक्सी राखिएका भाँडाहरूको पनि ‘थापिंचा’ (पूजा) गर्नुका साथै विधिपूर्वक ‘मोहनी सिन्हः’ थाप्ने भनेर ध्वाँसो जम्मा गरिन्छ । सोही ध्वाँसोलाई कालो टीकाको रूपमा दशमीको दिन लगाउँछन् ।

‘यो मान्छेको जीवनलाई पनि रिचार्ज गर्नुपर्छ भनेर पुर्खाहरूले बनाएको विधि हो । अब मेरो शरीरमा ईश्वरको वास भयो । शक्ति प्राप्त भयो भनेर दशमीको दिन कालो टीका लगाउँछौँ,’ उनले भने, ‘ठुलाबढाकहाँ गएर टीका थाप्ने, दक्षिणा दिने हाम्रो चलन होइन । कालो टीका सामान्य प्रसादकै रूपमा लगाइन्छ ।’ नेवाः समुदायमा दुर्गा, भगवती, रावणलाई मारेको भन्ने कथाहरू पछि मात्र जोडिएका हुन् । उनका अनुसार नेवाः समुदायमा रातो टीकाको साथै कालो टीका पनि लगाइन्छ । कुनै वेला सुवर्णचुर्ण अर्थात् सुनको पनि टीका लगाउने प्रचलन भए पनि सबैले प्रयोग गर्न नसक्ने भएपछि रातो, सेतोमा रूपान्तरण हुँदै गएको हो ।

हिन्दु समुदायमा रातो टीका 
अधिकांश हिन्दु समुदायले मनाउने दसैँ कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्यांक भेटिँदैन । इतिहासकार दिनेशराज पन्तका अनुसार लिच्छविकालदेखि दसैँ मनाउन थालियो भन्ने प्रामाणिक इतिहास भेटिन्छ । त्यसपछि शाहकालमा दसैँ भव्यताका साथ मनाउने प्रचलन सुरु भयो । लिच्छविकालमा भेटिएको एक अभिलेखमा दशमी गोष्टी भनेर उल्लेख पाइने हुनाले लिच्छविकालमा कुनै न कुनै रूपमा दसैँ मनाइन्थ्यो भन्ने मान्न सकिन्छ । ‘दसैँ कहिलेदेखि मनाउन थालियो यकिन छैन । हामीले भन्न सक्ने प्रामाणिक कुरा भनेको लिच्छविकालदेखिको हो ।

लिच्छविकालपछि नेपाल टुक्रिँदै पृथ्वीनारायण शाहको पालामा पुग्दा ५२ वटाभन्दा धेरै राज्य भएको थियो । त्यो वेलामा सबै राज्यमा भव्य रूपमा दसैैँ मनाइन्थ्यो । तोकेरै भन्दा पूर्वमध्यकालदेखि दसैँ भव्य रूपमा मनाउन थालियो,’ पन्तले भने । विसं १७३५ सालमा गोरखाका राजा पृथ्वीपति शाहले काठमाडौंमै आएर दसैँ मनाएको अभिलेख भेटिन्छ । पन्तले दसैँमा प्रयोग गरिने रातो टीकाबारे पनि यकिन तथ्यांक नभएको उल्लेख गरे । पन्तले भने,‘रातो टीका कहिलेदेखि प्रयोगको रूपमा आयो भन्ने यकिन छैन । रातो टीका समृद्धि, विजय र आयुवृद्धिको प्रतीक हो । रातो सौभाग्यको प्रतीक पनि हो । त्यसैले पनि रातो टीकालाई प्रयोगमा ल्याइयो होला भन्न सकिन्छ ।’ 

सुझावित समाचार