दसैँलाई ५० हजार खसी–बोका र १२ हजार च्यांग्राको धमाधम बिक्री

च्यांग्रा आइसके भने दैनिक १०–१० वटा गाडीमा खसी–बोका भित्र्याइँदै , उपत्यकामा ल्याएको खसी–बोका बिक्री गर्न समस्या नभएको व्यवसायीको भनाइ

शनिबार, ११ असोज, २०८२
डिजिटल संस्करण

व्यवसायीले दसैँका लागि काठमाडौं उपत्यकामा ५० हजार खसी–बोका र च्यांग्रा आपूर्तिको व्यवस्था मिलाएका छन् । त्यस्तै, १२ हजार च्यांग्रा उपत्यका भित्रिसकेका छन् भने खसी–बोका दैनिक रूपमा आपूर्ति भइरहेको व्यावसायिक बाख्रापालक महासंघका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

उनका अनुसार प्युठान, सल्यान, जाजरकोट, रुकुम, रोल्पा, दाङ, बर्दिया, मधेशका आठै जिल्ला हुँदै पूर्वी पहाडी क्षेत्रबाट खसी–बोका काठमाडौं आपूर्ति भइरहेको छ । दैनिक १०–१२ गाडी खसी–बोका आयातको प्रबन्ध मिलाइएको उनले जानकारी दिए । ‘यहाँको मागअनुसार करिब ५० हजारको संख्यामा खसी–बोका आपूर्ति हुने गरी व्यवस्थापन मिलाइएको छ,’ उनले भने । काठमाडौंमा तराई र पहाडी क्षेत्रका खसी–बोकाको उच्च माग भएकाले किसानको खोरबाटै खरिद गरेर ल्याइरहेको उनले बताए ।

‘गाउँमा किसानले घर–घरमा खसी–बोका पालेका छन्, किसानबाटै संकलन गरेर काठमाडौंसम्म ल्याउने व्यवस्था मिलाइएको छ,’ उनले भने । त्यस्तै, किसानले सदरमुकामसम्म ल्याएर बिक्री नभएका खसी–बोका पनि काठमाडौंका लागि ल्याउने गरेको उनले बताए । कलंकी खसी बजारमा अहिले जिउँदो खसी–बोकाको मूल्य प्रतिकिलो सात सय रुपैयाँ छ ।

दसैँका लागि च्यांग्रा भने आइसकेका छन् । कलंकी खसी बजारसँगै केही च्यांग्रा भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा बिक्रीका लागि राखिएको छ । व्यवसायीले मनाङ, मुस्ताङ, दार्चुलालगायतका जिल्लाबाट काठमाडौंका उपभोक्तालाई च्यांग्रा बिक्री गर्न ल्याएका हुन् । मुस्ताङबाट ल्याइएको जिउँदो च्यांग्रा प्रतिकिलो १२ सयदेखि १२ सय ५० रुपैयाँसम्मका दरले बिक्री भइरहेका छन् । दार्चुलाबाट ल्याइएको जिउँदो भेडा प्रतिकिलो सात सय ४० र जिउँदो च्यांग्रा नौ सय ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । 

यो वर्ष १२ हजारको संख्यामा च्यांग्रा बिक्री हुने अनुमानअनुसार अधिकांश च्यांग्रा भित्रिसकेको व्यवसायीले जनाएका छन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच सय च्यांग्रा ल्याएर बिक्री गर्ने योजना बनाए पनि यसपालि नल्याउने निर्णय गरेको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौंसम्म ल्याउन कठिन
महासंघ अध्यक्ष गोविन्द सुवेदीले काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा समयमै खसी–बोका ल्याउन कठिन भइरहेको जानकारी दिए । पूर्वी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभालगायत जिल्लाका किसानको बारीमा चरन गरेका खसी–बोकाको उपत्यकामा उच्च माग छ । व्यवसायीले पनि पूर्वी पहाडी जिल्लाबाटै खसी–बोका ल्याउन थाले पनि मुग्लिन–नारायणगढ र धादिङमा पहिरो जाँदा बाटो अवरुद्ध भइरहेको छ । जसकारण खसी–बोका ढुवानीमा पनि समस्या भइरहेको उनले बताए ।

‘दसैँमा धेरै खसी–बोका ल्याउने भएकाले सरकारले ढुवानीमा केही सहजीकरण गरे हुन्थ्यो भन्ने लाग्छ,’ उनले भने, ‘तर, सरकारी निकायले कुनै समन्वय गरेका छैनन् । बाटो अवरुद्ध हुँदा समयमै खसी–बोका ल्याउन गाह्रो भइरहेको छ ।’ काठमाडौंको बजारमा ल्याएको खसी–बोका बिक्री गर्न भने समस्या नरहेको उनले बताए । ‘काठमाडौंको बजारमा ल्याइसकेपछि बिक्री गर्न चिन्ता छैन, सबै बिक्री भइरहेको छ,’ उनले भने ।

स्वदेशी खसी–बोका नै माग धान्न सक्षम
महासंघले खसी–बोकाको मासुको माग धान्न स्वदेशी उत्पादन नै सक्षम भइसकेको बताए । तर, भारतबाट लुकिछिपी आयात भइरहेकाले सरकारले नियन्त्रण गर्नुपर्ने महासंघ अध्यक्ष गोविन्द सुवेदीको भनाइ छ । ‘सरकारले भारतीय खसी–बोका आयातमा कडाइ गरेन, हामी आफैँले नियन्त्रणमा लिन्छौं’, उनले भने । भारतको उत्तर प्रदेश, राजस्थान र बिहारलगायतबाट अस्वस्थकर खसी–बोका आयात हुने उच्च जोखिमसमेत रहेको उनले जानकारी दिए ।

सुझावित समाचार